रेडियोबाट एसइई तयारी कक्षा शुरु



काठमाडौं: कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू भएपछि एसइई परीक्षा स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई लक्षित गरी तनहुँको एक रेडियोले तयारी कक्षा शुरु गरेको छ ।

एसइई दिने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी जिल्लाको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित शुक्लागण्डकी एफएमले तयारी कक्षा शुरु गरेको हो ।

बन्दाबन्दीका क्रममा पनि पढ्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुधबारदेखि रेडियोबाट एसइई तयारी कक्षा शुरु गरिएको शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिए ।

जिल्लाका शहरी भेगमा इन्टरनेटको सहज पहुँच पुगेकाले अनलाइन प्रविधिबाट तयारी कक्षा शुरु गरिए पनि ग्रामीण भेगमा इन्टरनेटको पहुँच नभएकाले रेडियोबाट तयारी कक्षा शुरु गरिएको उपाध्यायले बताए “ग्रामीण भेगमा एफएम रेडियोको महत्व उत्तिकै छ, रेडियोबाट पनि तयारी कक्षा प्रभावकारी हुने अपेक्षा गरेका छौँ”, उपाध्यायले भने ।

उनका अनुसार विद्यालय बन्द भएपछि अनलाइन शिक्षणलाई मात्रै प्राथमिकता दिइए पनि गाउँ शहर जताततै सबैको पहुँचमा रेडियो रहेकाले तयारी कक्षाले एसइई दिने विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रेडियोबाट हाल ५ वटा विषयको कक्षा संंचालन गरिएको छ । दिउँसो १ देखि २ बजेसम्म नेपाली र अंग्रेजी, साँझ ४ देखि ५ बजेसम्म विज्ञान र साँझ ७ः ३५ देखि ८ बजेसम्म सामाजिक अध्ययनको पढाइ संचालन गरिएको छ ।

विज्ञान विषयमा खैरेनी माध्यमिक विद्यालयका केशवराज घिमिरे र दीपक भण्डारी, नेपाली विषयमा पञ्चमुनीदेव माध्यमिक विद्यालयका एकनारायण भण्डारी, अंग्रेजी विषयमा पञ्चमुनीदेव माध्यमिक विद्यालयका शान्तकुमार श्रेष्ठ र सामाजिक अध्ययन विषयमा ज्ञान बगैँचा बोर्डिङ स्कूलका विनोद पौडेलले कक्षा लिएका छन् ।

रेडियोबाट संचालन गरिएको तयारी कक्षाले घरमा रहेका विद्यार्थीलाई अध्ययन गर्ने बानीमा थप प्रोत्साहन हुने खैरेनी माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका विज्ञान शिक्षक केशवराज घिमिरेले बताए ।

बन्दाबन्दी जारी रहेसम्म रेडियोबाट तयारी कक्षा संचालन गरिने स्टेशन म्यानेजर उपाध्यायले जानकारी दिए । रेडियोबाट संचालन गरिएको तयारी कक्षा एफएमको फेसबुक पेजबाट पनि लाइभ गर्ने गरिएको छ । वि.सं.२०७३ असोज १५ गतेदेखि प्रसारणमा आएको ५०० वाट क्षमताको रेडियोको पहुँच तनहुँसँगै स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पर्वत, पाल्पा, नवलपुर जिल्लामा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्