भारतबाट वैशाख ५ गते नेपाल आएका थिए रुपन्देहीका कोरोना संक्रमित युवक



बुटवल : रुपन्देही कोटहीमाई गाउँपालिका वडा नम्बर १ को २५ वर्षीय कोरोना संक्रमित युवक वैशाख ५ गते भारतबाट नेपाल आएको पाइएको छ ।

लकडाउनका बेला नेपाल आएका उनलाई भारतीय सीमा क्षेत्रबाट क्वारेन्टाइन लगिएको थियो ।

कोरोना संक्रमितका दाजुले भने–‘लकडाउनको समयमा भारतबाट घर आएका थिए । तर, भाईलाई भारतीय सीमा क्षेत्रबाट घर नलगी क्वारेन्टाइन स्थलमा पुर्याएका थियौं ।’

उनलाई मर्चवार आदर्श वहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले जानकारी दिए ।

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

क्वारेन्टाइनमा बसेका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएको अध्यक्ष यादवले बताए । अहिले उनलाई बुटवलको कोरोना विशेष अस्थायी अस्पताल ल्याइएको छ ।

उनको अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

उनको परिवारमा ८ जना सदस्य छन् । उनीहरुलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको ।
प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार उनीहरु सबैको स्वास्थय जाच गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्