
काठमाडाैं । रौतहट चन्द्रपुर-६ की दुर्इ दिदी बहिनी सम्झना र सुस्मितालाई राति १२ बजे एसिड प्रहार गरेकाे अाराेपमा प्रहरीले रामबाबु पासवानलाई पक्राउ गरेकाे छ । उनीहरूकै छिमेकी अन्दाजी ५० वर्षिय रामबाबु पासवानलाई प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेकाे छ ।
तीजको दर खाने दिन थियो। बुबा जादोलाल दास खाना खाएर आफूले चलाइरहेको पुल हाउसमा सुत्न गए। १२ वर्षको छोरो लिएर उनी पुल हाउस गएका थिए। घरमा उनकी पत्नी र काखे नानी एउटा कोठामा, सम्झना र बहिनी सुस्मिता अर्को कोठामा सुतेका थिए।
ढोका बिग्रिएको निकै दिन भइसकेको थियो। छोरीहरूले मर्मत गर्न भनेका पनि हुन्। तर जादोलालले मर्मत गराउन पाएका थिएनन्। मध्यरातमा कसैले बाहिरैबाट ढोका खोल्यो र सुतिरहेकी सम्झनामाथि एसिड खन्याइदियो। सम्झनासँगै सुतेकी सुस्मिताको पनि घाँटी र हातमा एसिड पर्यो।
निदाइरहेका दिदिबहिनीलाई एक्कासि अनुहार र हातमा पोल्न थाल्यो। के भयो थाहै भएन। रुँदै आमा सुत्ने कोठामा पुगे उनीहरू। घरमा रुवाबास चलेको सुनेर छिमेकी पनि आइपुगे। तेजाब नै खन्याइएको थाहा पाए उनीहरूले। दिदीबहिनीको शरीरमा पाइपबाट पानी खन्याइदिए। आगो लागेको भए पो पानीले निभाउँथ्यो। तर उनीहरूको शरीरमा तेजाब पसिसकेको थियो, कसरी निभ्थ्यो। पानी खन्याउँदा झन् बढी पोल्न पो थाल्यो।
छिमेकीको स्कुटर मागेर बुवा जादोलालले चपुर अस्पताल पुर्याएका थिए। अस्पतालले यहाँ उपचार हुन सक्दैन भनेर काठमाडौं रिफर गरेकाे थियाे।
तस्विर: अनमाेल कार्कीकाे फेसबुकबाट ।