लकडाउनसँगै मकवानपुरमा ५० प्रतिशत दूध खपत घट्यो



हेटौंडा : लकडाउनको समयमा मकवानपुरमा ५० प्रतिशत दूध खपत घटेको छ ।

दुग्ध सहकारी संघका अनुसार काठमाडौं जाने दूध कम भएसँगै खपतमा कमी आएको हो । दैनिक २० हजार लिटर दूध काठमाडौं पठाइरहेको भए पनि लकडाउनमा १० हजार लिटर मात्र पठाइरहेको संघले जनाएको छ ।

करिब ४० हजार लिटर दूध संकलन गरेर वितरण गर्दै आएको संघले हाल २० हजार लिटर मात्र दूध संकलन तथा वितरण गरिरहेको जनाएको छ । दूधको खपतमा कमी आएपछि संघले किसानलाई एक दिन बिराएर दूध संकलनमा ल्याउन अनुरोध गरेको छ भने वितरण संस्थालाई पनि एकदिन बिराएर खोल्न निर्देशन दिएको छ ।

हाल मकवानपुरमा १७ दुग्ध उद्योग रहेका संघले जनाएको छ । जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष वासुदेव अधिकारीले उद्योगमार्फत साधारण अवस्थामा २० हजार लिटर दूध वितरण हुने गरेको भए पनि हाल १० हजार लिटर दूध वितरण भइरहेकाले किसानलाई एक दिन बिराउन अनुरोध गर्नु परेको बताए ।

उनका अनुसार हाल किसानलाई दूधका परिकार बनाउन अनुरोध गरिएसँगै किसानले पनि एकदिनको दूध परिकार बनाउने र एक दिनको दूध संकलनमा दिने गरेका छन् । उनले भने, “दूध बिक्री घटेपछि हामीले किसानलाई रोटेसन लगायौँ उहाँहरुले पनि त्यसै गर्नुभयो, अहिले उहाँहरुले घिउ, पनिर बनाउनुभएको र कसैले घरबाट नै व्यापार गर्नुभएको छ भने कसैले आफैँले प्रयोग गर्नुभएको जानकारी गराइरहनुभएको छ ।”

उनले हालको अवस्थामा दूध बोक्ने गाडीको ब्यानरमा गैरकानूनी सामान ओसारपसार भएको गुनासो आइरहेको बताउदै सबै उद्योगको आफ्नो आधिकारिक सवारी नभएको र भाडाको सवारी प्रयोग गर्नु परेको कारण त्यसको फाइदा गलत काम गर्नेले उठाइरहेको बताए । संघका अध्यक्ष अधिकारी आफैले पनि एक दिनको दूध घिउ र पनिर बनाउने गरेको जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका-१२ का राजक पाठकले आफूले बनाएको घिउ र पनिर बेचेर आम्दानी भइरहेको बताए । हेटौँडा-१९ की लक्ष्मी बर्तौलाले पनि लकडाउनको समयमा घिउ जम्मा गरिरहेको जानकारी दिए । हेटौँडा-४ की रुकु मैनालीले भने घरबाट नै दूध बिक्री गर्ने गरेको जानकारी दिए । उनले दैनिक २० माना दूध बेचिरहेको र अहिले किन्ने ग्राहक घरमै मास्क तथा पञ्जा लगाएर आउने गरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्