लकडाउनको अवधिमा १६ सय भन्दा बढि प्रदेश २ प्रवेश



जनकपुरधाम: कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि नै देशभर लकडाउन गरेको छ ।

लकडाउनको अवधिमा प्रदेश २ का बिभिन्न १ सय ९ वटा नाका भएर अहिलेसम्म ठूलो संख्यामा नेपालीहरु भारतबाट फर्किएको एक तथ्याङ्कले देखाएको छ । गत चैत ११ गतेदेखि बैशाख १८ गतेसम्ममा यस प्रदेशका विभिन्न नाका हुँदै कामको सिलसिलामा भारत गएका प्रदेशका आठवटै जिल्लाका १ हजार ६ सय २८ जना नागरिकहरु आ–आफ्नो घर फर्केका हुन् ।

सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले लकडाउन घोषणा भएदेखि अहिलेसम्म १ हजार ६ सय २८ जना नागरिक फर्किएको तथ्याङ्क प्रदेश सरकारसँग रहेको जानकारी दिए । भारतबाट आएकाहरुमा कोरोना भाइरसको संक्रमण भेटिन थालेका बेला सचिव घिमिरेले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

उनले सप्तरीमा १ सय ५०, सिरहामा १ सय ७९, धनुषामा १ सय ३, महोत्तरीमा १ सय ५९, सर्लाहीमा ३ सय ३९, रौतहटमा २ सय ६२, बारामा ९३ र पर्सामा ३ सय ४३ जना भारतलगायतका देशबाट फर्केर आएको जानकारी दिए । उनले भने, ‘लकडाउन सुरु भएपश्चात खुला सिमानाका रहेको कारण यतिको संख्यामा व्यक्तिहरु प्रदेशभित्र प्रवेश गरेका छन् ।’ यो विवरण सरकारसँग उपलब्ध रहेपनि थप व्यक्तिहरु लुकिछिपी प्रवेश गरेको हुन सक्ने उनले आशंका व्यक्त गरे ।

उनले स्थानीयतहका प्रतिनिधि, सुरक्षा निकाय,संचारकर्मी र स्थानीय समुदायलगायत सम्पूर्ण पक्षलाई उच्च सतर्कता अपनाउँदै कोरोना भाईरस संक्रमण विरुद्धको कार्यमा सहकार्य गर्न अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्