उपचारमा सम्पत्ति सकिएपछि मन्दिरको बास



पर्वत : क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थालेका छन् । फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आएका छन् ।

 

एउटा झुपडी र चार हलको खेत बेचेर आएको १२ लाख उपचारमा सकिएपछि मन्दिरको बास भएको उनले बताए । ६७ वर्षीय कँडेल ‘प्रोष्टेट क्यान्सर’बाट पीडित छन् । पिसाबमा रगत देखिन थालेपछि २०७१ पुस १४ गते पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुगेर चार महिनासम्म उपचार गरेपछि उनको रगत बग्ने समस्या कम भएकाे छ । 

उपचारका क्रममा १० लाख खर्च भयो । पोखराबाट फर्किएको एक महिना नहुँदै फेरि पिसाबमा रगत देखिन थालेकाले भएको घरखेत बेचेर गाउँलेको सल्लाहमा कँडेल २०७५ जेठमा चितवनको बिपी कोइराला क्यान्सर अस्पतालमा पुगे । एक महिनाको उपचारपछि साथमा भएको रकम सकियो । अस्पतालले थप उपचारका लागि रकम जम्मा गर्न सल्लाह दिएर अस्पतालबाट फिर्ता पठाएयाे । उनी गृह जिल्ला आए पनि आफ्नाे गाउँ भने गएका छैनन् । 'गाउँमा घर पनि छैन, साथमा रकम पनि भएन, अब केका लागि गाउँ जाने', उनले भने ।

गत वर्ष पुसदेखि श्रीमतीसहित मन्दिरमा बस्दै आएका कँडेलले चिकित्सकले २२ लाख भए उपचार हुने सल्लाह दिएको बताउँदै थपे, 'मसँग २० रुपैयाँ पनि खल्तीमा छैन ।२२ लाख कहाँबाट ल्याएर उपचार गराउनु । तर जस्तो भए पनि बाँच्न भने मन लाग्दोरहेछ ।' 

कँडेलका चार छोरा छन् । छोराहरूको पनि आर्थिक अवस्था राम्रो छैन । कान्छा छोरा मोहनबहादुर कँडेल रोजगारीका लागि दुबई पुगेका छन् । 'मोहनबहादुरले पठाएको रकम औषधि किन्दैमा सकियो । जेठा छोरा सोमबहादुरले कृषि पेसाबाट जेनतेन परिवार पाल्दै आएको छ । माइलो छोरो रोजगारीका लागि भारतमा गएको छ भने साइँलो छोरो पोहोर साल आगोमा डढेर अझै उपचार गराउँदै छ', उनले भने ।

औषधि किनेर खान मासिक १० हजार जति खर्च हुने गरेकाले उपचारमा समस्या भएपछि देशविदेशमा रहेका नेपालीलाई आर्थिक सहयोग गर्न कँडेलले अपिल गरेका छन् । कँडेललाई पर्वत सेवा समाजले शुक्रबार १० हजार २५ रुपैयाँ प्रदान गरेको छ । समाजकी अध्यक्ष मुना भुसाल र फलेवास–११ का वडाध्यक्ष जीतबहादुर सुनारले कँडेल दम्पतीलाई उपचारका लागि सो रकम प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्