महोत्तरीमा शंकास्पद रुपमा सात जनाको मृत्यु भएपछि गाउँ नै शोकमा



महोत्तरी : महोत्तरीको भंगहा नगरपालिका– ७ मेघरौल (साबिकको मेघनाथ गोरहन्ना गाविस) मा लगातार सातजनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । गाउँले शोकमा मात्र छैनन् एउटै गाउँमा शृंखलाबद्ध मृत्यु के कारणले भएको हो भन्नेमा चिन्तित पनि बनेका छन् । 

यस गाउँमा निरन्तर तीन दिनको बीचमा सातजनाको मृत्यु भएकाे छ । १६ वैशाखमा एकजना, १७ गते चारजना र १८ गते दुईजना गरी सातजनाको मृत्यु भएको हाे । उनीहरूको मृत्युको कारण पत्ता लागिसकेको छैन ।

भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले मृत्युको कारणबारे विभिन्न चर्चा–परिचर्चा भए पनि वास्तविकता शव परीक्षण रिपोर्टले मात्र खुल्ने बताए । उनले हालसम्म स्थानीयहरूसँग भएको छलफलले मदिरासेवनले मृत्यु भएको हुन सक्ने अनुमान भए पनि कारण त्यही हाे भनेर किटान गर्न नसकिने स्पष्ट पारे ।

विषाक्त मदिरासेवन वा कोरोना वा अन्य के–कति कारणले मृत्यु भएको तत्कालै भन्न सक्ने अवस्था नभएपछि गाउँले भयभीत भएका हुन् । 

स्थानीय युवाले गाउँमा प्रवेश गर्ने सबै बाटोमा अवरोध गर्दै घेराबन्दी गरेर राखेका छन्, घटनाबारे स्पष्ट गर्न स्वास्थ्य तथा सुरक्षा संयन्त्रलाई स्थानीयले गुहारेका छन् । मृतकमध्ये ५५ वर्षीय सुकदेव महरा र ३५ वर्षीय सिकिन्द्र सिंहको शव बिहीबार पोष्टमार्टम गरिएकोमा त्यसको रिपोर्ट आउन समय लाग्ने ऱ्यापिड रेस्पोन्स टिम कोभिड– १९ का स्रोतव्यक्ति गिरेन्द्र झाले जानकारी दिए । उनले दुवै मृतकको कोरोना जाँचका लागि स्वाब संकलन गरेर जाँचका लागि पठाइएको बताए । 

पहिले आरडिटी जाँच र पछि स्वाब जाँचको रिपोर्ट तथा पोष्टमार्टम रिपोर्टले मृत्युको कारण खुलस्त हुने बताउँदै स्रोतव्यक्ति झाले तत्काल गाउँलेलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको जनाए । बिहीबार गाउँमै रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरूको टोली, विभिन्न दलका नेता तथा भंगहा नगरपालिकाका मेयरसमेतको उपस्थितिमा मृत्यु प्रकरणबारे छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको निर्देशनमा दुई शवको पोष्टमार्टम गरिएको थियो । 

नेकपाका स्थानीय नेता राजेन्द्रप्रसाद सिंहले गाउँमा विगतदेखि नै लोकल मदिरा छ्यापछ्याप्ती पाउने गरेको बताउँदै मृतकहरू नियमित मदिरा सेवनकर्ता भएको र उनीहरूको मृत्युसमेत विशाक्त मदिराका कारण भएको हुन सक्ने बताए । मेयर साहले भंगहामै लुकिछिपी विभिन्न मदिराभट्टीहरू सञ्चालनमा रहेको स्वीकार गर्दै उनले त्यस्ता भट्टीहरू नष्ट गर्ने क्रम जारी रहेको बताए । 

यी हुन मृतकहरू
गत वैशाख १६ गते ४५ वर्षीय मोहन चौधरीको मृत्यु भयो । स्थानीयले यसलाई सामान्य रूपमा लिए । भोलिपल्ट थप  चारजनाको मृत्यु भयो । जसमा ५५ वर्षीय  गंगाराम सदा, ५० वर्षीय लालाबाबु सिंह, ५५ वर्षीय महेन्द्र चौधरी र ५० वर्षीय नथुनी महराको मृत्यु भयो । 

त्यस्तै वैशाख १८ गते एकाबिहानै अर्का स्थानीय ३५ वर्षीय सिकिन्द्र सिंहको पनि मृत्यु भयो । सोही दिन अस्पताल उपचारको लागि पुऱ्याउन खोजिएका सुकदेव महराको पनि बाटोमै मृत्यु भयो । नयाँ पत्रिका दैनिकमा रंजन भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्