संघीय संरचना कमजोर बन्दैः नेता महत



पोखरा : नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले संघीय संरचना महंगो बन्दा संघीयता कमजोर बन्दै गएको बताएका छन् । 

 

नेपाली लेखक संघ कास्कीद्वारा शनिबार यहाँ आयोजित नेपालको वर्तमान संघीय प्रादेशिक र स्थानीय कर प्रणाली विषयक अन्तक्रियामा उनले ठूलो संरचनाको संघीयताका कारण आर्थिक बोझ बढ्दै गएको बताए ।

 

संघीय संरचना धान्नकै लागि देशैभरी करवृद्धि र स्थानीय तहमा कानून विपरीत कर उठाउन थालिएको बताउँदै उनले कर उठाउने नीति नियम स्पष्ट नहुँदा जनताले महंगो कर तिर्न बाध्य भएको उल्लेख गरे ।

 

देशमा तीन तहको सरकार र स्थानीय तहमा मात्र ७५३ सरकार रहेको उल्लेख गर्दै उनले तीनवटै सरकारको प्रशासनिक संरचना ठूलो र देशको अर्थतन्त्र सानो हुँदा देशले आर्थिक रुपमा धान्न मुस्किल भएको धारणा राखे ।

 

देशको ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च गर्ने, भत्ता बढाउने, तालिम र गोष्ठीमा फजुल रुपमा पैसा सक्ने जस्ता प्रवृत्ति रोकिनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्