२३ भारतीय कामदार जनकपुरमा, २४ नेपाली कामदार दशगजा क्षेत्रमा अलपत्र



जनकपुरधाम: जनकपुरधाम हुँदै भारत जान लागेका २३ जना भारतीय कामदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट पैदल हिँडेर भारतको बिहार राज्यस्थित दरभङ्गा जान लागेको अवस्था जनकपुरधामस्थित विद्यापति चोकमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सबै भारतीय कामदार बिहार राज्यको दरभङ्गाका हुन् । उनीहरु सबैलाई जनकपुरधामको विद्यापतिचोकमा खटिएका प्रहरीको टोलीले सोधपुछ गर्दा काठमाडौंबाट सातदिनदेखि पैदल हिँडेर जनकपुरधामसम्म पुगेको र भारतीय सीमा पार गरेर आफ्नो घर जान लागेको बताइएको छ ।

ती भारतीयहरु काठमाडौंमा काम गर्दै आएका थिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले लकडाउन गरेपछि भोकभोकै बस्नुपर्ने बाध्यता रहेकोले आफूहरु पैदल नै घर तर्फ हिँडेको उनीहरुले प्रहरीलाई बताएका छन् । ७ दिन अगाडी ती भारतीयहरु काठमाडौंबाट भारतको दरभङ्गाका लागि हिँडेका थिए ।

७ दिन पछाडी मात्रै उनीहरु जनकपुरधाम आईपुगेको हुन् । नियन्त्रणमा लिइएका सबैलाई नगराइन नगरपालिका २ स्थित क्वारेन्टाइनमा पठाइएको छ । यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले यस विषयमा अनभिज्ञता जनाएका छन् ।

उता भारतका विभिन्न स्थानबाट आएका २४ जना नेपाली पनि धनुषा सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । उनीहरु धनुषाको महिनाथपुर र इनर्वा नाकाको दशगजा क्षेत्रमा फँसेका छन् । आइतबार रातिदेखि महिनाथपुर नाकामा १३ जना र इनर्वा नाकामा सोमबार बिहान आइपुगेका ११ जना अलपत्र परेका छन् । सशस्त्र प्रहरीले सीमा प्रवेश गर्न रोक लगाएपछि उनीहरु अलपत्र परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्