धनुषामा दुई पक्षबीच झडप हुँदा आधा दर्जन बढी व्यक्ति घाइते



जनकपुरधाम : धनुषामा दुई पक्षबिच झडप हुँदा आधा दर्जन बढी व्यक्ति घाइते भएका छन् ।

धनुषाको नगराईन नगरपालिका वडा नम्बर(५ को गंगुलीमा दुई पक्षबिच झडप हुदाँ दुबै पक्षका गरि आधा दर्जन भन्दा बढि गम्भीर घाइते भएका हुन् ।

स्थानीय रविन्द्र मण्डलले लकडाउनका कारण बजार जान नसकेर घर छेउमै पार्किङ्ग गरेर राखेको ई(रिक्साको हेडलाइट एक सातापूर्व कसैले चोरेर लगेको थियो ।

पछि खोजतलास गर्दै जाँदा चोरको बारेमा पत्ता लागेको र उसलाई आफ्नो ई(रिक्साको हेडलाईट किन चोरेको भनेर सोध्दा दुबै पक्षबिच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि उनीहरुबिच कुटाकुट समेत भयो ।

दुबैपक्षबिचको विवादले झगडाको रुप लिएपछि स्थानीय सन्तोष दास,राजकिशोर दास,हरि किशोर दास,जयनारायण मण्डल, सन्तोष मण्डल,गोपाल मण्डल र रामनरेश मण्डल लगायतका व्यक्तिहरु घाइते भएका थिए ।

घाइते मध्येका केहिजनाको नगराईनस्थित नीजि अस्पतालमा र केहिको जनकपुरस्थित नीजि अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा प्रहरीको टोली पुगेपनि प्रहरीले खासै वास्ता नगरेपछि झडपले उग्ररुप लिएको स्थानीयको आरोप छ ।

यता प्रहरीले दुबै पक्षका झगडीयाहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा राखि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

स्थानीय रामनरेश मण्डल, गोपाल मण्डल, राहुल मण्डल, जयनारायण मण्डल लगायतकाहरु प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्