संघीय सरकार असफल भई ‘ब्याकफुट’मा छः मन्त्री यादव



जनकपुरधाम– दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई आफैले ल्याएको अध्यादेशका कारण आत्मालोचना गर्नु परेकोले नैतिक रुपले उनलाई राजीनामा दिनुपर्ने मन्त्री यादवले बताए । उनले प्रधानमन्त्रीले ल्याएको अध्यादेश एक हप्ता नबित्दै फिर्ता हुनु लज्जास्पद रहेको बताउँदै यस भन्दा ठुलो झापड उनका लागि केहिपनि हुन नसक्ने दाबी गरे ।

संघीय सरकार असफल भई ब्याकफुटमा रहेको जिकिर गर्दै मन्त्री यादवले केपी ओली नेतृत्वको सरकारले आफ्नो नाकामीको परिचय दिएको धारणा राखे ।

नेपालमा संघीय गणतन्त्र घोषणा नभएसम्म मधेशी जनताले मधेश आन्दोलन नरोकेको स्मरण गर्दै उनले संघियता संस्थागत नभएसम्म प्रदेश २ सरकार पनि संघर्षरत रहने जिकिर गरे ।

‘प्रहरी प्रशासन केहि दिन पश्चात प्रदेश सरकारको मातहतमा आएपछि सरकार टु सरकार संघर्षको अवस्था सिर्जना हुन्छ’– उनले भने– ‘त्यसपछि संघिय सरकारसँग आँट रहँदैन कि उसले गरिरहेको षड्यन्त्र सफल हुन्छ ।’

उनले भने– ‘अब प्रधानमन्त्री केपी शर्मा ओली जति बढि दिन पदमा बस्छन् त्यति बढि आफ्नो नाम आफै बदनाम गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्