महोत्तरीको जलेश्वरस्थित एक क्वारेन्टाइनबाट ३ जना फरार



जनकपुरधाम: महोत्तरीको जलेश्वर नगरपालिकास्थित एक क्वारेन्टाइनबाट ३ जना फरार भएका छन् ।

जलेश्वर नगरपालिका १ बखरीस्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा रहेको क्वारेन्टाइनबाट ३ जना बुधबार बिहान फरार भएका हुन् ।

सोमबार सो क्वारेन्टाइनमा राखिएका तिनै जना बुधबार बिहान साढे पाँच बजे भागेको क्वारेन्टाइन स्थलको जिम्मेवारी पाएका जलेश्वर नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत संजय कुमार शर्माले जानकारी दिए ।

क्वारेन्टाइनबाट भागेकाहरु भारतको सितामढी निवासी २१ वर्षिय,३० वर्षिय र ३९ वर्षिय पुरुषहरु रहेको उनले बताए । २४ औं घण्टा दुई जना सुरक्षाकर्मी र नगर प्रहरीको निगरानीमा रहँदै आएको सो क्वारेन्टाइनबाट सबैलाई छलेर उनीहरू भागेको बताइएको छ ।

स्वास्थ्यकर्मीको टोली पनि ६-६ घण्टामा परिवर्तन भईरहन्छ,सुरक्षाकर्मी समेतले निगरानी गरिरहेकै हुन्छन् तर त्यस्तो कडाईमा पनि उनीहरु भागेपछि प्रहरी प्रशासनको कार्यशैली माथि प्रश्नचिन्ह खडा भएको छ ।

त्यस क्वारेन्टाइनबाट तिन जना फरार भएपछि बाँकी १८ जनामाथि कडा निगरानी गरिएको छ । उनीहरू तिनैजना लगायत मंगलबारसम्म त्यहाँ २१ जना थिए ।

फरार भएकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्