मानवीय कमजोरीले विपद्का घटना बढ्दै छन् : गृहमन्त्री



काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले मानवीय कमजोरीका कारण विपद् जोखिमका घटना बढेको बताएका छन् । 

 

प्रकोप न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा उनले मानवनिर्मित विपद् जोखिम न्यूनीकरणका लागि स्वयं नागरिकहरू सचेत भएर लाग्नुपर्नेमा जोड दिए । 

 

गृहमन्त्री थापाले भने, “मानवीय कमजोरी, गलत स्वार्थ र नीतिका कारण विपद्का घटना बढिरहेका छन् । यातायात, आवास, ऊर्जा आदि सम्बन्धी उपयुक्त नीतिको अभावले जताजतै बाटो खनिएको छ, डोजर चालक इञ्जिनीयर भएका छन्, जसले भू–क्षय र वनविनास बढिरहेको छ । यी सबै नीतिहरूमा राज्य, राजनीतिक दल तथा जनस्तरबाट पनि सोच्नुपर्ने अवस्था छ ।” 

 

गृहमन्त्री थापाले विकसित तथा औद्योगिक राष्ट्रले कार्बन उत्सर्जन गरेकाले विश्वतापमान वृद्धि भई जलवायु परिवर्तनको जोखिम बढेको भन्दै सम्बन्धित देशले आफ्नो नीतिगत सुधार गर्नुपर्ने खाँचो औँल्याए । 

 

सीमित स्रोत साधनका बाबजुद विपद् व्यवस्थापन तथा न्यूनीकरणमा मन्त्रालय लागिपरेको भन्दै उनले कमभन्दा कम क्षति हुने गरी विपद् व्यवस्थापनका विभिन्न क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । 

 

“विपद् व्यवस्थापनको क्षेत्रमा सरकारले बढीभन्दा बढी लगानी गर्नुपर्ने आवश्यकता छ, यसमा सरकार मात्र होइन, निजी क्षेत्रको पनि उत्तिकै लगानी र सक्रियता चाहिन्छ, यो भएर विपद न्यूनीकरणका सामूहिक कार्यक्रम एकसाथ लैजान सकेमात्र आर्थिक र मानवीय क्षति घटाउन सकिन्छ”, गृहमन्त्री थापाले भने । 

प्रतिक्रिया दिनुहोस्