काठमाडौंमा सडक विस्तार गर्न अव नयाँ योजना नबन्ने



काठमाडौं: चालू आर्थिक वर्ष ०७५/०७६ मा काठमाडौं उपत्यकाभित्र सडक विस्तारका नयाँ योजना नबन्ने भएका छन् । भौतिक योजना मन्त्रालयले सडक निर्माण र विस्तारको जिम्मेवारी स्थानीय तहलाई दिने प्रक्रिया सुरु गरेका कारण काठमाडौंमा सडक विस्तार नहुने भएको हो ।  काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर विश्वविजय लाल श्रेष्ठले चालू आवमा पुराना योजनालाई निरन्तरता दिनेबाहेक नयाँ योजना नरहेको बताए ।

सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी कर्णसिंह खत्रीले पनि यस वर्षदेखि सडकसम्बन्धी योजानाहरू, प्रदेश र स्थानीय तहलाई हस्तानतरण गर्न लागेकाले सडक विस्तारको योजना नै नभएको बताए । अब राष्ट्रिय राजमार्गबाहेक सडक, प्रदेश र स्थानीय तहले नै निर्माण तथा विस्तार गर्ने उनले बताए । ‘पहिले क्षेत्रीय तथा सहरी सडकहरू सडक विभाग मातहतमा थिए, अब संघ मताहतमा रहेका योजनाहरू स्थानीय तह र प्रदेश तहमा हस्तान्तरणको प्रक्रियमा छन्,’ सूचना अधिकारी खत्रीले भने ।  

विस्तारका क्रममा रहेका केही सडक पनि स्थानीयको अवरोध र सर्वोच्च अदालतको आदेशका कारण रोकिएका छन् । केही समयअघि सर्वोच्च अदालतले सडकमा पर्ने घरजग्गाको मुआब्जा दिएर मात्रै विस्तार गर्न फैसला गरेको थियो । अदालतको आदेशअनुसार राज्यसँग घरजग्गा दुवैको क्षतिपूर्ति वितरण गर्ने बजेट पनि नभएको आयोजनाका इन्जिनियर श्रेष्ठले बताए । यो वर्षबाट सडक विस्तार आयोजना र सडक डिभिजन कार्यालयहरूले सडक मर्मत तथा राष्ट्रिय राजमार्ग निर्माण मात्र गर्छन् ।   

सडक विस्तारको प्रगति विवरण

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ०७१ देखि ०७६ सम्ममा काठमाडौं उपत्यकाभित्र करिब २२४ किलोमिटर सडक विस्तारको लक्ष्य लिएको थियो । तर, यो लक्ष्यको करिब ४० प्रतिशत मात्रै अहिलेसम्म पूरा भएको आयोजनाको प्रगति विवरणमा उल्लेख छ ।  आयोजनाको प्रगति विवरणअनुसार चार वर्षमा चक्रपथ–ज्ञानज्योति सडकको करिब एक किलोमिटर सडकबाहेक कुनै पनि सडक विस्तार पूरा भएको छैन । यस्तै, तीन वर्षमा आयोजनाले त्रिपुरेश्वर–नागढुंगा सडकको करिब १३ किलोमिटरमध्ये साढे ७ किलोमिटर र चाबहिल–जोरपाटी–साँखु सडकको १७ किलोमिटरमध्ये साढे ४ किलोमिटर सडक विस्तार गरेको जनाएको छ ।

दुई वर्षमा लगनखेल–सातदोबाटो सडकको १६ मिटर, इमाडोल–लुभु–लामाटार सडकको ४ किलिोमिटरभन्दा बढी सडक विस्तार गरेको छ । आयोजनाका अनुसार अहिलेसम्म ललितपुरको ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडकको साढे ४ किलोटिर र कर्मनाशाखोला–गोदावरी सडकको करिब १ किलोमिटर सडक विस्तार भइसकेको छ । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत नै रहेको जोरपाटी–सुन्दरीजल सडक विस्तार सुरु भएको दुई वर्षमा १० प्रतिशत मात्रै काम भएको छ । तर, यो आयोजना २ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । विस्तार आयोजनाअन्तर्गत नक्खुखोला–बुङ्मती सडकको करिब १६ सय मिटर पूरा भएको छ भने पेप्सीकोला–सल्लाघारी सडकको एक सय मिटर सडक विस्तार सम्पन्न भएको छ । गत पुस र असारमै सम्पन्न गर्नुपर्ने धोवीखोला–अरनिको राजमार्गअन्तर्गतको ६० प्रतिशत र बागमती पुल–अरनिको राजमार्गको ३० प्रतिशत मात्रै काम भएको नयाँपत्रिकामा खवर छ । 

प्रतिक्रिया दिनुहोस्