भूपू भारतीय सैनिकलाई पेन्सन वितरण



म्याग्दी : म्याग्दीका भारतीय सेनाको सेवाबाट निवृत्त भएका ७०० भूपू भारतीय सैनिकलाई रु २८ करोड पेन्सन वितरण गरिएको छ । भारतीय राजदूतावासअन्तर्गत बेनीस्थित जिल्ला सैनिक बोर्डले कोरोनाभाइरस रोकथामका लागि गरिएको लकडाउनका बीच आफ्ना भूपू सैनिकलाई पेन्सन वितरण गरेको हो । म्याग्दीका भूपू सैनिकलाई एभरेष्ट बैंकको बेनीस्थित सेवा केन्द्र गोरखा सैनिक सहकारी संस्थामार्फत मङ्गलबारदेखि बिहीबारसम्म वितरण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर म्याग्दी र पर्वतका सैनिकलाई बुधबारसम्म पेन्सन वितरण गरिएको गोरखा भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । उहाँका अनुसार ७०० भूपू सैनिकलाई रु २८ करोड पेन्सन वितरण गरिएको छ । एभरेष्ट बैंकमार्फत पेन्सन लिनेलाई बेनीमा गोरखा सैनिक सहकारीले भुक्तानी गर्दै आएको छ । गत वर्ष बेनीमा जिल्ला सैनिक बोर्ड स्थापना र एभरेष्ट बैंकको सेवा केन्द्र खुलेपछि भूपूहरुलाई राहत मिलेको छ ।

पेन्सन लिनका लागि बागलुङ जानुपरेको छैन । कतिपय भूपूहरुले सिधैँ बैंक खातामा पेन्सन जम्मा गर्छन् । छ–छ महिनामा पेन्सन वितरण गर्छ । कोरोनाको त्रास र लकडाउनका कारण प्रभावित भएको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन भूपूहरुको पनि योगदान रहने भूपू सैनिक कल्याणकारी सङ्घ म्याग्दीका अध्यक्ष मीनबहादुर कार्कीले बताए ।

बन्दाबन्दीमै मोटर चल्ने पुलको ढलान

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)का बीच म्याग्दीमा मोटर चल्ने पुलको ढलान गर्ने काम सकिएको छ । लकडाउनका कारण देशभर सञ्चालित धेरैजसो विकासका आयोजना ठप्प बनिरहेको अवस्थामा बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल ढलान गरिएको हो ।

स्थानीयस्तरमा उपलब्ध कामदारलाई स्वास्थ्य सामग्रीको व्यवस्था गरी परिचालन गरेर पुल ढलानका साथै प्रिस्टिचिङ (फलामको लट्ठा) तान्ने काम सकिएको निर्माण व्यवसायी रवि कार्कीले बताए । “पुलको स्ल्याब र ब्याकवालको काम पनि शुरु गरिएको छ”, उनले भने, “पुल निर्माणको काम ९० प्रतिशत सकिएको छ ।”

ढलानको तयारी गरेको अवस्थामा जेठ ११ गते घट्टेखोलामा आएको बाढीले सटिङ गरेका सामग्री बगाएको थियो । ४० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजना र फेवा नयाँबाटो (जेभी) ज्वाइन्टभेञ्चरबीच विसं २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । रु पाँच करोड ७६ लाख ८० हजार ५५६ मा सम्झौता भएको पुल २०७५ असार २९ गते सम्पन्न गर्ने लक्ष्य थियो । बाढीले बगाएपछि ढिलाइ भएको पुल चालू आर्थिक वर्षभित्र सकेर हस्तान्तरण गर्ने तयारी गरेको व्यवसायी कार्कीले बताए ।

आयोजनाका अनुसार यो पुल प्रिस्टिङ प्रविधिको हो । हाल घट्टेखोलाबाटै सवारी साधन आवतजावत गर्छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार घर नगएका मजदुरले रुप्से, कोवाङलगायत ठाउँमा सडक विस्तार र पर्खाल निर्माणको काम गरिरहेका छन् ।

स्थानीय मजदुर र उपकरण परिचालन गरेर विकास आयोजनालाई सञ्चालन गर्ने जिल्लाका सरोकारवालाले नीति लिए पनि मजदुर र निर्माण सामग्रीको अभाव भएको छ । लकडाउनपछि धेरैजसो मजदुर हिँडेरै भए पनि घर गएका छन् । सिमेन्ट, रडलगायत निर्माण सामग्रीको अभाव भएकाले आयोजना सञ्चालनमा समस्या भएको निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्