जग्गादाता कार्कीलाई सम्मान



झापा: झपाको कमल गाउँपालिका-५ को कार्यालय भवन शिलान्यास गरिएको छ ।

पाडाजुँगीचोक पूर्व पाथीभरा चोकमा निर्माण हुने वडा कार्यालय भवनको प्रदेशसभा सदस्य अर्जुन राईले आज शिलान्यास गरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिएका छन् ।

सांसद विकास कोषमार्फत विनियोजित २५ लाख बजेटबाट उपभोक्ता समितिमार्फत भवन निर्माणको काम शुरु गरिने उनले बताए । सो अवसरमा सो प्रदेशसभा सदस्य राई, गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेणु शिवाकोटीले विकास निर्माणमा एकजुट हुन आह्वान गरे ।

भवन निर्माणका लागि जग्गा दान गर्ने सन्तोष कार्कीका परिवारलाई सम्मानसमेत गरिएको छ । दाताले त्यहाँ करिब ३० लाख मूल्य पर्ने १७ धुर जग्गा उपलब्ध गराएका थिए ।

भवन बनाउन बलराम गजुरेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्नुका साथै जग्गादाता कार्कीको संयोजकत्वमा ५सदस्यीय एक अनुगमन समितिसमेत गठन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्