मानव सेवा आश्रमलाई १ लाख ५० हजार सहयोग



पोखरा : सांसद एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसी र धर्मपत्नी प्रेमकुमारी केसीले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार नगद सहयोग गरेका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमणसँगै बन्दाबन्दी जारी रहेका अवस्थामा समाजसेवी एवं उद्योगपतिसमेत रहेका केसीले आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनालाई आज उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उनले यसअघि पनि आश्रमलाई ३ लाख सहयोग गरेका थिए । मानसिक सन्तुलन गुमाएका, सडक पेटीमा बस्ने, परिवारबाट अपहेलित तथा असहायका निम्ति आश्रयस्थल बन्दै आएको मानव सेवा आश्रमले छोरेपाटनमा दुई वर्षअघि शाखा सञ्चालन गरेको हो ।

आश्रमले हालै हेम्जामा पनि शाखा सञ्चालन गरेको छ । दुवै शाखामा १११ जना आश्रित छन् । आश्रम सञ्चालनपछि पोखरा क्षेत्रका ३०० जनालाई सडकबाट उद्धार गरिएकामा तीमध्ये १२५ जनालाई पारिवारिक पुनर्मिलन गराइएको आश्रमका प्रदेश संयोजक तिमिल्सिनाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्