शंकास्पद व्यक्तिको स्वाब लैजान पुग्यो हेलिकप्टर



डोल्पा: शंकास्पद व्यक्तिको स्वाब लैजानका लागि सुर्खेतबाट स्वास्थ्यकर्मी बोकेर माउन्टेन एयरको हेलिकप्टर पुगेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ वर्षीय पुरुषलगायसँगै सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर सुर्खेत लैजानका लागि हेलिकप्टर आइपुगेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

केहीबेरमै शंकास्पद व्यक्तिको स्वाब लिएर हेलिकप्टर फर्किने प्रजिअ सुनारले बताए । दुनै र जुफालमा पनि केही व्यक्तिको स्वाब संकलन गरिएकाले सोही हेलिकप्टरमा ल्याइने कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।

सबैको स्वाब सुर्खेतमा परीक्षण गरेपछि मात्र कोरोना भए-नभएको पुष्टि हुने मन्त्री बुढाको भनाइ छ । शुक्रबार १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्कने क्रममा स्थानीय स्वास्थ्यकर्मीले दु्रत परीक्षण (आरडिटी) गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

शुक्रबार साँझ नै पुनः शंकास्पद व्यक्तिको आरडिटी परीक्षणका लागि जिल्ला अस्पतालबाट डाक्टरको टोली खटाएर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । आरडिटी रिपोर्टबाट स्वास्थ्यकर्मी नै अन्योलमा परेपछि सुर्खेतबाट हेलिकप्टरमा स्वास्थ्यकर्मी झिकाएर पिसीआर परीक्षणका लागि पठाइएको नगरपालिकाले जनाएको छ ।

शंकास्पद व्यक्ति पछिल्लो समय कोराना संक्रमणको रेड जोनमा परेको नेपालगञ्जमा केही महिना बसेर डोल्पा आएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्