बाह्य जिल्लाबाट कैदीबन्दी ल्याउन रोक



चितवन: यहाँस्थित कारागार कार्यालयले बाह्य जिल्लाबाट कैदीबन्दी ल्याउन रोक लगाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको समयमा कारागारभित्र पनि रोगको संक्रमण हुन सक्ने भन्दै बाह्य जिल्लाबाट पठाइने कैदीबन्दीमा रोक लगाइएको कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

यस कारागारमा देशका बिभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण गरेर पठाउने गरिन्छ । विशेष गरी क्यान्सर रोगका बिरामीलाई यहाँ स्थानान्तरण गर्ने गरिन्छ । योसँगै नवलपुरमा कारागार कार्यालय नहुँदा त्यहाँका कैदीबन्दी र मकवानपुरमा महिला बन्दीगृह नहुँदा महिला बन्दी यहाँ पठाउने गरिन्छ ।

अहिले कार्यालयले नवलपुरलाई पत्र नै पठाएर त्रास बढेका कारण कैदीबन्दी नपठाउन अनुरोध गरेको उनले जानकारी दिए । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बाह्य जिल्लाबाट आएका कैदीबन्दीबाट असुरक्षित हुन सक्ने देखिएपछि नल्याउन भनिएको हो ।

कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले गरेको लकडाउनका समयमा मात्रै कार्यालयमा ३९ कैदीबन्दी थपिएका छन् । तीमध्ये मकवानपुरका दुई जना, नवलपुरका १२ र चितवनका २५ जना रहेका छन् ।

मकवानपुरबाट आउने कैदीबन्दी नगन्य संख्यामा हुने भएकाले सो जिल्लालाई मौखिकरुपमा मात्रै आग्रह गरिएको उनको भनाइ थियो । अहिले कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५८ जना, नाबालक ३ र २५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा ६७४ कैदीबन्दी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्