वीरगन्जमा पत्रकारमाथि प्रहरीको दुर्व्यवहार



वीरगन्ज : नेपाल समाचार पत्र पर्सा जिल्लामा कार्यरत पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको लिंकरोडबाट प्रहरीले पत्रकार यादवलाई दुर्व्यवहार र कुटपिट गर्दै नियन्त्रणमा लिएको हो ।

स्थानिय नारायणी एफ.एम.मा समेत कार्यरत यादवलाई एफ.एम गेट अगाडि लिंकरोडमा मोटरसाइकल पार्किङ गरेको निहुँमा प्रहरीले पक्राउ गरेको हो ।

दुईवटा प्रहरी भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल राखेकै निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शी एफएमका प्राविधिक प्रमुख दिपेन्द्र साहले जानकारी दिए ।

प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने, तिवारी यादवले गाली नगर्नुस् हामि हटाइ हाल्छु भन्ने वित्तिकै एक जना प्रहरीले लछारपछार गर्दै यादवलाई गाडीमा हालेर लगे उनले बताए ।
प्रहरी भ्यानमा हालेपछि प्रहरीले यादवको मोबाइल पनि खोसेर राखेको साहले बताए । एफएम स्टेशनकै गेटबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएका पत्रकार यादवलाई प्रहरीकै भ्यानभित्र राखिएको छ । उनलाइ गाडीबाट झर्न दिइएको छैन ।

पत्रकार यादवलाई प्रहरीले पक्राउ लगेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका सञ्चारकर्मीलाई समेत यादवसँग भेट गर्न दिइएको छैन ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले लकडाउनको बहानामा प्रहरी दुर्व्यवहार मै उत्रेको बताए ।

‘लकडाउनको बहानामा चिकित्सक, औषधि व्यवसायी र स्थानियलाई समेत प्रहरीले दुर्व्यवहार गर्दै आएका थिए ।’ उनले भने, ‘तर ,चोथौ अंगका रुपमा रहेका पत्रकारलाई समेत प्रहरीले दुर्व्यवहार गर्न छाडेनन् ।’

हातपात तथा दुर्व्यवहारमामा उत्रेका दोषी प्रहरीलाई अविलम्ब कारवाही गर्नुपर्ने र पत्रकार यादवलाई विना सर्त रिहा गर्नुपर्ने माग नेपाल पत्रकार महासंघ प्रदेश २ को छ ।

प्रतिक्रिया दिनुहोस्