धादिङमा एक निजी विद्यालयका प्रधानाध्याकको हत्या



धादिङ : उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५, फूलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ ।

गंगाजमुना एकेडेमीका प्रअ ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई गिरफ्तार गरेको छ ।

विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए । शनिबार भारी बोकेर घरबाट मिलमा जान लागेका बेला उनलाई बुढाथोकीले खुकुरी प्रहार गरेको बताइएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते गुरुङलाई उपचारका लागि धादिङबेँसी लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए ।

आरोपित बुढाथोकी प्रहरी हिरासतमा छन् । उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्