पत्रकार यादवलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै महासंघ आन्दोलित



वीरगञ्जः नयाँ पत्रिका दैनिक तथा स्थानिय नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवमाथि प्रहरीद्वारा गरिएको दुरव्यवहारको विरोधमा नेपाल पत्रकार महासंघ पर्सा शाखा आन्दोलित भएको छ ।

पत्रकारमाथि हातपात गरि दुरव्यवहार गर्ने प्रहरीलाई तत्काल कारवाहीको माँग गर्दै सोमबार महासंघले वीरगन्जको घण्टाघर चौकमा विरोध प्रदर्शन गरेको छ । पत्रकार तिवारी यादवलाई विना कारण दुरव्यवहार गर्नुको साथै कुटपिट गरि मोबाइल फोन नियन्त्रणमा लिएको विरुद्धमा पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा पर्सेली पत्रकारहरूले वीरगन्जको घण्टाघरमा आधाघण्टा धर्ना दिएर प्रहरी ज्यादतीको विरोध गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले लकडाउनको पालन गराउने नाउँमा पर्सामा प्रहरीको ज्यादती बढिरहेको आरोप लगाए । समाजका क्रिम फिगर रहेका व्यक्तिहरूलाई प्रहरीले निशाना बनाएर अमानवीय व्यवहार देखाएको उनले आरोप लगाए ।

कानून पालन गराउने प्रहरीद्वारा नै वर्दीको आडमा धाँधली देखाउँने कार्य भएको हुँदा घटनामा संलग्न प्रहरी उपर अविलम्ब कार्यवाहीको माग गरे । महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले दोषी प्रहरीमाथि कार्यवाही नभएसम्म पत्रकारहरूको आन्दोलन नरोकिने बताए ।

कोरोना भाईरस महामारीबाट लड्न अग्रपंतीमा खटिरहेको डाक्टर, बैकंकर्मी, औषधि व्यवसायी र पत्रकारलाई लकडाउनको पालना गराउने नाममा बारम्बार प्रहरीबाट दुरव्यवहारको शिकार भईरहेको भन्दै प्रहरीको गलत रवैयाको विरुद्धमा आन्दोलनमा उत्रिनु परेको बताए ।

घण्टाघरमा आयोजित धर्ना कार्यक्रममा प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, समाजवादी प्रेस युनियन ,आदिवासी जनजाति पत्रकार संघ लगाएत विभिन्न संघ संगठनहरुले समर्थन जनाएका थिए । वीरगन्जको लिंकरोडस्थित नारायणी एफएम स्टेशनकै मुल गेटबाट आइतबार दिउँसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेर प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्याएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका यादवलाई तीन घण्टापछि रिहा गरेको थियो । एफ.एम. अगाडी मोटरसाईकलको विषयमा समान्य विवादपछि थामथुम भइसकेको घटना प्रहरीले निहुँ खोजेर पत्रकार यादवलाई नियन्त्रणमा लिएको बुझिाएको छ ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पर्नेरुको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार यादवसंग दुव्र्यवहार गर्नुका साथै नियन्त्रणमा लिएको हो । यसैगरी आईतबार राती ८ बजे बाराका पत्रकार पवन यादवमाथि एक अज्ञात समुहले कलैयामा आक्रमण भएको घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारवाहीको माग गरेको छ ।

महासंघ बाराका शाखाका अध्यक्ष कमल कुमार उपाध्यायले एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार यादवमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारवाहीको माग गरेका छन् । उपाध्यायले जारी गरेका विज्ञप्तीमा भनिएको छ, अज्ञात समूहको आक्रमणले यादबको शरीरमा गहिरो घाउचोट लागेको छ साथै प्रेस सामाग्रीमा क्षति पुर्याइएको छ । दुरव्यवहार र भौतिक आक्रमण गर्न राज्यले कसैलाई छुट दिएको छैन ।

क्रियाशील पत्रकारमाथिको घटनाको छानबिन गरी दोषीलाई पत्ता लगाई अविलम्ब कारबाही हुनुपर्ने विज्ञप्तीमार्फत माग गरिएको छ । साथै प्रहरी प्रशासनलाई चाडो भन्दा चाडो अपराधिलाई प्रक्राउ गर्न नेपाल पत्रकार महासंघ बारा शाखा आग्रह गरेको छ । शुरक्षित र शान्तिपुर्बक पत्रकारिता गर्ने वातावरण स्थानिय प्रहरी प्रशासनले नबनाए महासंघ बाध्य भएर आन्दोलनमा जान बाध्य हुने विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्