छलफल स्थलमै झडप



सर्लाही: धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा विवाद उत्पन्न हुँदा भएको झडपमा ११ जना घाइते भएका छन् ।

सो गाउँपालिका-६ मा रहेको अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी बिक्री वितरण गर्नका लागि लैजाने भन्दै गत रातमा आएका ६ वटा ट्रकलाई स्थानीय उखु उत्पादक किसानले नियन्त्रणमा लिएका थिए ।

बिक्री गरेको उखुको भुक्तानी नदिएसम्म ट्रक नछाड्ने अडान किसानले लिएका थिए । इलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया प्रहरी चौकी भवानीपुरमा किसानले नियन्त्रणमा लिएका ट्रक राखिएको छ ।

हरकठवामा रहेका चारमध्ये दुईवटा ट्रकमा चिनी लोड छ भने दुईवटा खाली रहेका छन् । यस्तै भवानीपुरमा रहेका दुवै ट्रकमा चिनी लोड छ । प्रहरी कार्यालयमा थन्किएका ट्रक छाड्ने र किसानको बाँकी भुक्तानी दिलाउने विषयमा छलफल भइरहेको समयमा दुई पक्षबीच झडप भएको सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए ।

२०७० सालदेखिको करिब १२ हजार उखु उत्पादक किसानको करिब ४० करोड सो उद्योगले भुक्तानी नदिँदा उखु उत्पादक किसान निरास भएका छन् । बन्दाबन्दीको समयमा चिनी उद्योगबाट भुक्तानी पाइएला र घर व्यवहार धान्न सहज होला भन्ने आस गरेका उखु उत्पादक किसान झन निरास भएका छन् ।

समस्या समाधान गर्न विशेष पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्