पत्रकार यादवमाथि आक्रमण गर्ने चार मध्ये दुई जना पक्राउ



वीरगन्ज:बाराका क्रियाशिल पत्रकार पवन यादवमाथि आक्रमण गर्ने चार मध्ये दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पत्रकार यादवमाथि आक्रमण गर्ने कलैया उपमहानगरपालिका वडा नं.१ का नारायण सर्राफ र वडा नं.३ का छोटु भन्ने ईरफान मंसुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य दुई जनाको पहिचान भईसकेकोले उनीहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको प्रहरीको भनाइ छ । नेपाल पत्रकार महासंघ बाराका केन्द्रिय पार्षद रहेको पत्रकार यादव माथि आईतबार बेलुकी कलैयाको भरतचोकमा सांघातीक आक्रमण भएको थियो ।

भरतचोकस्थित रहेको आफ्नो पत्रिकाको कार्यालयबाट काम सकाएर घर फर्कदै गर्दा कलैया २ को हनुमान मन्दिर नजिकै उनमाथि आक्रमण भएको थियो । उनीहरुको आक्रमणमा परी पत्रकार यादवको निधारसमेत फुटेको छ । आक्रमणकारीले ल्यापटप, क्यामरा र मोबाईलमा क्षति पुर्याएको पिडित पत्रकार यादवले बताएका छन् ।

पक्राउ परेका मध्ये दुवै जनालाई कुटपिट मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नेपाल पत्रकार महासंघ बारा शाखा, प्रेस युनियन बारा लगायत विभिन्न पत्रकार संघ संगठनले विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाहीको मागसंगै ल्यापटप, क्यामरा र मोबाईलमा पुर्याएको क्षतिको क्षतिपुर्ती उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्