कुबेतमा अलपत्र रन्तिजाको उद्धार



म्याग्दी : रोजगारीको सिलसिलामा कुबेतमा पुगेर बिरामी भएपछि अलपत्र परेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका चमबहादुर रन्तिजालाई उद्धार गरिएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको पहलमा ५२ वर्षीय रन्तिजालाई उद्धार गरी नेपाल पठाइएको हो । काम गर्दागर्दै अचानक बेहोस भई ढलेका रन्तिजालाई फर्वानिया अस्पतालमा २१ दिन लामो उपचारपछि घर फिर्ता गरिएको हो ।

शारीरिक रुपमा अस्वस्थ भएको र काम गर्ने रेस्टुरेन्टको मालिकले तलब नदिएपछि अलपत्र परेका रन्तिजालाई ४ महिना २० दिनको तलब र राहदानी उपलब्ध गराएर घर फिर्ता गराइएको मोना कुवेतका संयोजक प्रेमबहादुर विश्वकर्माले जानकारी दिए । २२ वर्षसम्म कुवेतमा काम गरेका रन्तिजा घरबिदा मनाएर कुवेत पुगेको २ वर्ष भएको थियो ।

‘कुवेतस्थित खैतानको एक रेस्टुरेन्टमा काम गर्दै आउनुभएको रहेछ, झन्डै पाँच महिनादेखि तलब पनि नपाएको र राहदानीसमेत नदिएको सूचना पाएपछि निरन्तरको ताकेतापछि मात्रै उहाँलाई अहिले घर फिर्ता हुने वातावरण सिर्जना गर्न सम्भव भयो’, मोना कुवेतका महासचिव चन्द्र विश्वकर्माले भने ।

रक्तचापको समस्याबाट पीडित रन्तिजाको केही महिनापहिले पत्थरीको समस्या हटाउन शल्यक्रिया गरिएको थियो । अहिले उनको मिर्गौलामा समेत समस्या देखिएको उपचारमा संलग्न डाक्टरहरुले बताएपछि थप उपचारका लागि समेत घर फिर्ता गराइएको महासचिव विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्