पत्रकार तिवारीलाई न्याय दिलाउँन ३ दिने अल्टिमेटमसहित महासंघको ज्ञापन पत्र



वीरगन्ज: पत्रकार तिवारी यादवलाई न्याय दिलाउँन नेपाल पत्रकार महासंघ पर्सा शाखाले पर्साका प्रमुख जिल्ला अधिकारीलाई तीन दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ ।

गत आईतबार पत्रकार यादवमाथि प्रहरीले दुव्यर्वहार गर्दै नियन्त्रणमा लिएको छ । दुरव्यवहार गर्ने दोषी प्रहरी माथि पर्साका एसपी गंगा पन्तले कारवाही नगरेको भन्दै महासंघ आन्दोलनमा उत्रेका थिए । सोमबार बिहान ८ बजे आधा घण्टा धर्ना सहित प्रहरी ज्यादतीको विरोध गर्दा समेत दोषी प्रहरीलाई कारवाही नगरेपछि मंगलबार पुन १ घण्टा घण्टाघर चोकमा विरोध प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको हो ।

महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा रहेको पर्सेली पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै दोषी प्रहरीलाई कडा कारवाही गरी पत्रकार यादवलाई न्याय दिलाउँन तीनदिने अल्टिमेटम दिएको छ ।

तीन दिनभित्र घटनामा संलग्न दोषी प्रहरीलाई कारवाही नगरे तीनदिन पछि थप संघर्षको कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा उत्रिने चेतावनी दिए । पत्रकार उपर राज्य नियन्त्रित सरकारी निकायबाट भइरहेको अमानवीय व्यवहार रोक्न समेत महासंघले माग गरेको हो ।

महासंघले बुझाएको ज्ञापनमा पत्रकार यादवलाई विभिन्न बहानामा नियन्त्रणमा लिई कुटपिट गर्नुका साथै उनको मोबाईल समेत नियन्त्रणमा लिएर राखेकोले यसको अविलम्ब छानविन गरी दोषी प्रहरी माथि यथासिघ्र कारवाहीको प्रकृया अगाडी बढाउन माग गरिएको छ ।

प्रजिअ कार्कीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ पर्सा शाखाका अध्यक्ष बन्जाराले पर्सा प्रहरीद्वारा गरिएको अमानवीय व्यवहार माफी योग्य नरहेकोले पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई निलंबन गरी विभागीय प्रक्रिया अगाडी बढाउँन तिन दिनको अल्टिमेटम दिएको बताए ।

तिन दिन भित्र पर्साका पत्रकारहरूको मांगको सम्बोधन नगरिए व्यवसायीक पत्रकारहरूको हकहितको लागी देशव्यापी रूपमा चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने र यस्को सम्पुर्ण जिम्मेवारी स्थानीय प्रसाशनले लिने अध्यक्ष बन्जाराले चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्