‘सरकार र कांग्रेस दुवै असफल’



काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘एक वर्षको अवधिमा सरकारले मुलुक हाँक्न सकेन, कांग्रेस पनि प्रतिपक्षमा दह्रो देखिएन ।’

अध्यक्ष राणाले जनमतबाट प्राप्त अभिमतको सदुपयोग गर्न सरकार र कांग्रेस दुवै नसकेको तथा सरकारले दुई तिहाइ मत पाएको अवस्थामा समेत काम गर्न नसक्नु आफैंमा हास्यास्पद भएको बताए । ‘सरकार र कांग्रेसले जुन अवसर पाए, त्यसको सदुपयोग गर्न जानेनन्, अब हाम्रो पालो आएको छ, यो समय राजतन्त्र फर्कन सक्ने अवस्था छ,’ उनले भने । अध्यक्ष राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ मत पाउँदासमेत पाना पल्टाएर हेर्न लायक राम्रो काम केही गर्न नसकेको र मौका खेर फालेको दाबी गरे ।

‘यो एक वर्षमा सरकारले केके राम्रो काम गर्यो त भनेर पाना पल्टायो भने मौका खेर फालेको पाइन्छ, सरकारले यो एक वर्षमा हासिल गरेका उपलब्धि शून्य छ,’ उनले भने । अध्यक्ष राणाले सरकार बने यताको अवधिलाई हेर्दा मुलुकको व्यापार घाटा उच्च रूपमा बढेको र निर्यातभन्दा आयात बढी भएको भन्दै आयातको १० प्रतिशत पनि निर्यात नहुनु मुलुकका लागि घाटाको अवस्था भएको बताए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरे पनि व्यवहारमा कार्यान्वयन गर्न अघि नसरेको आरोप लगाउँदै उनले भने, ‘प्रधानमन्त्री ओली टोलटोलमा सिंह दरबार पुग्यो, भ्रष्टाचार पनि अन्त्य गर्छु भन्नुहुन्छ, तर व्यवहारमा पाइएन, स्थानीय तहमा जनप्रतिनिधि आएसँगै टोलटोलमा भ्रष्टाचार पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस्