काठमाडौंमा कोरोनाको जोखिम बढ्यो, लकडाउन उल्लङ्घन नगर्न आग्रह



काठमाडौं : पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ जोखिम बढ्दै गएकाले लकडाउन उल्लङ्घन नगर्न आग्रह गरिएको छ ।

मङ्गलबार उपत्यकामा मात्रै एकैदिन तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भन्दै थप सतर्कता आवश्यक रहेकाले लकडाउन पूर्णपालना गर्न सबैलाई आग्रह गरिएको हो ।

लकडाउनको उल्लङ्घन गर्दै जाने हो भने नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर भएर लकडाउन कडाइका साथ कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुनुपर्ने काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शाक्यले बताए ।

“आवतजावतको होडबाजीले थप समस्या हुन्छ । हामी शुरुदेखि नै उपत्यकाबाट हुने आवतजावतमा कडाइ गर्दै उपत्यकाको चहलपहललाई खुकुलो पार्नुपर्छ भन्दै आएका छौँ”, शाक्यले भने, “तर, सरकारी गाडी र पासको समेत दुरुपयोग गर्दै निर्वाधरुपमा उपत्यका भित्रिने क्रम नरोकिएको भन्ने जानकारी आएको छ । हिजोको घटनाले पनि त्यही कुराको पुष्टि गर्छ । अब पनि हामी सचेत नहुने हो भने अवस्था नियन्त्रण बाहिर जानसक्छ । त्यसैले हामी सबै सचेत हुन जरुरी छ”, शाक्यले भने ।

उनले केही कठिनाइका बीचमा पनि लामो समयदेखि उपत्यकावासीले लकडाउनको पूर्णपालना गरेर सहयोग गरेको भन्दै अझै केही समय धैर्य गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्