कोरोना फैलन सक्ने भन्दै होटलले खाना खुवाउन नमानेपछि…



वीरगन्जः कोरोना संक्रमितको उपचारमा खटेका वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई आजदेखि खाना खुवाउने काम बन्द गरिएको छ ।

चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको खाना खुवाउने जिम्मा कन्ट्री ईन होटलले लिएको थियो । एकजना स्वास्थ्यकर्मीमा नै बुधबार कोरोना संक्रमणको पुष्टि भएपछि बिहिबार देखि होटलका स्टाफले अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको खाना खुवाउँने काम बन्द गरेका हुन् ।

नारायणी अस्पताल कोरोना अस्पताल संचालन भएपछि चैत २७ दिनदेखि वीरगन्ज महानगरपालिकाले चिकित्सक सहितको टोलीलाई कन्ट्री ईन होटलमा बस्न र खानाको प्रबन्ध मिलाएको थियो । अस्पतालकै एक नर्समा कोरोना संक्रमणको पुष्टि भएपछि संक्रमणको संत्रासले होटलका कर्मचारीले खाना पकाएर खुवाउन नसक्ने जवाफ दिएपछि बिहानको खाना समयमा पाएन । वीरगन्जका मेयर विजय कुमार सरावगीले तत्काल बाहिरबाट खानाको व्यवस्था मिलाएपनि चिकित्सकले त्यो खाना खान मानेन ।

महानगरपालिकाले बाहिरबाट मगाएर दिएको खाना खान योग्य नभएको भन्दै स्वास्थ्यकर्मीले उक्त खाना नखाइ फर्काइदिएको अस्पतालका चिकित्कस डा. उदयनारायण सिंहले बताए । होटलका संचालक हरी पन्तले भने, जेठ १ गतेबाट हामी खाना खुवाउन नसक्ने सहमती नै भएको थियो ।

त्यसकै आधारमा आजबाट खाना खुवाउन नसकेको बताए । उनले भने, एक त होटलमा स्टाफको अभाव छ, त्यसमा पनि भएका स्टाफहरु कोरोना संक्रमणको त्रासले खाना खुवाउन नसक्ने जनाएका छन् । स्टाफले खाना पकाउन नमानेपछि बाहिरबाट ल्याएको खाना चिकित्सहरु सहितको टोली खान नमानेपछि अन्त्यमा आफै खाना पकाएर खुवाएको उनले बताए ।

उनले भने,‘आज बेलुको खाना पनि आफैले पकाएर खुवाउने तयारी गरेको छु । तर भोलीबाट हामीले खाना खुवाउन सक्दैनौ, वीरगन्जका मेयर सरावगीलाई समेतलाई जानकारी गराई सकेको छौ ।’ उनले अन्त व्यवस्था मिलाउने कुरा गरेको उनले बताए ।

कोरोना संक्रमितहको उपचारमा संलग्न चिकित्सकसहितको टोलीको मनोबल उच्च राख्नको लागि होटल निशुल्कमा उपलब्ध गराएका थिए । महानगरपालिकालाई होटल हस्तान्तरण गर्ने बेलानै आफूले बस्नलाई मात्र होटल दिने तर खाना खुवाउन नसक्ने सहमती गरेको बताए ।

उनले भने, महानगरप्रमुखको आग्रहमा मात्र १ महिनाको लागि खाना जेहेन तेहेन खाना खुवाउने व्यवस्था मिलाए तर अब म खाना पकाएर खुवाउँन सक्दीन । होटलका स्टाफले खाना पकाउँन नमानेपछि अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी गरी करिब ३० जनाले बिहीबार दिउँसो सम्म खाना खान पाएका थिएन ।

बिहीबार बिहान नास्ता दिए, त्यसपछि अब हामी खाना खुवाउन सक्दैनौं भनेर होटलका साहुले जवाफ दिएको अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए ।

कोरोना संक्रमितको उपचारमा ज्यान खोजिममा राखेर दिनरात खटेपनि उनीहरुको खानाको राम्रो प्रबन्ध नभएपछि आक्रोशित बनेका छन । हामी आफ्नो ज्यान जोखिममा राखेर र बालबच्चा घरमै छाडेर भए पनि १ महिनादेखि संक्रमितको उपचारमा खडेका छौं, डा. सिंहले भने,‘अस्पतालबाट ड्युटी सकाएर घरमा जान नमिल्ने भएकाले होटलमा बस्दै आएका हौं, अब हामीले कहा गएर के खाने ? भोकै पेट काम गर्न नसकिने भन्दै उनले भने,‘यदि होटलमै खानाको व्यवस्था हुन सक्दैन भने अब हामी पनि सबै जना आ-आफ्नो घर गएर बस्छौँ, संक्रमितको उपचार जसले गर्ने हो उसले गर्छ ।’

यता वीरगन्ज महानगरका नगरप्रमुख विजय सरावगीले भने होटलले खाना दिन नसक्ने खबर गरेपछि महानगरले अन्तबाट व्यवस्थापन गरेर खाना पठाएपनि स्वास्थ्यकर्मीले फर्काइ दिएको बताए ।

महानगरले भ्याए जति गरेकै हो, उनले भने,‘डाक्टर साबहरूलाई खाना मन परेन, अब उहाँहरूले आफ्नो खानाका लागि आफ्नै हिसाबले व्यवस्थापन गर्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्