पूर्वलडाकु भन्छन् : फेरियो व्यवस्था फेरिएन अवस्था



रुकुम: देशमा आमुल परिवर्तनको नारा बोकेर सशस्त्र १० वर्ष जनयुद्व सञ्चालन भएको थियो। दस वर्षसम्म भएको युद्वमा रुकुमका हजारौं युवाहरू जनमुक्ति सेनाका रूपमा काम गरेका थिए। समान अवसर र अधिकारका लागि युद्व लडेका पूर्व जनमुक्ति सेनाहरू अहिले भने पुरानै अवस्थामा फर्कन वाध्य भएको बताउने गरेका छन्। जुन सपना र नाराका साथ युद्व भएको थियो त्यो अहिले नेताहरूले सबै छोडेको पूर्व जनमुक्ति सेनाको आरोप छ।

बाँफीकोट गाउँपालिका ६ मग्माका तप्तबहादुर खत्री पनि जनयुद्वका बेला लडाकु भएर ४ वर्षसम्म काम गरेका थिए। आपूm जनमुक्ति सेनामा हुँदा नेताको आदेशअनुसार सबै काम गरेको उनी बताउँछन्। ‘आफूभन्दा माथिल्लो तहको नेताको आदेश पालना गर्नुपथ्र्याे,’ खत्रीले भने, ‘उतिबेला नेताको आदेशअनुसार विभिन्न ठाउँमा प्रहरी चौकी तथा तत्कालीन शाही सेनाको व्यारेक कब्जा गर्नेदेखि गाउँका फरक आस्थाका मान्छेलाई पक्राउ गर्ने कामसमेत गरियो।’

नेपाली जनतालाई युद्वको बेला बाँडिएको सपना अहिले नेताहरूले बिर्सिदै गएको उनको आरोप छ। नेताहरू आफ्नो स्वार्थमा रमाउँदा जनयुद्वको भावना नै मेटिएको हो कि भन्ने चिन्ता लाग्ने उनको भनाइ छ। शान्ति प्रक्रियामा आएपछि आफ्नो पार्टीका नेताहरू पनि अवसर र सुविधाभोगी भएको खत्रीले आरोप लगाए। ‘जनयुद्धकै कारण अहिले पनि हामीलाई समाजमा सहजरूपमा बस्ने वातावरण छैन,’ उनले भने,‘तर नेताहरू भने आफ्नो स्वार्थको लागि युद्वका सबै अजेन्डा छोडेर आफ्ना आफन्त र भ्रष्टाचारीको संरक्षणमा लागेका छन्।’ सबैको धनसम्पत्ति बराबर हुने सपना देखाएर हामी जस्ता गरिबका छोराछोरीलाई युद्धमा लाग्न वाध्य बनाइएको भए पनि अहिले नेताहरू नै अकुत सम्पत्ति बनाउन लागेको खत्रीले जिकिर गरे।

उनी जस्तै जिल्लाको सानीभेरी गाउँपालिका ३ गरायलाका हिक्मत विक पनि ६ वर्षसम्म जनमुक्ति सेनाको रूपमा काम गरे। सशस्त्र द्वन्द्वको समयमा राज्य शक्तिको परिवर्तन गर्ने र आमनागरिकलाई समान व्यवस्थाको लागि युद्व लडेका हिक्मत अहिले गाउँका समान्य कृषकका रूपमा रहेका छन्। २०५७ देखी २०६३ सालसम्म विभिन्न ठाउँमा भएका लडाइँको अग्रपंक्तिमा सहभागी हुँदै आएको भए पनि उनि शान्ति प्रक्रियाको सुरुवातमा अयोग्य ठहर भए।

सेना समायोजनको क्रममा आफ्नो दायाँ खुट्टामा गोली भएकै कारण अयोग्य हुनुपरेको उनको भनाइ छ। देश परिवर्तनको लागि लडेका आफुहरूको अवस्थामा भने कुनै परिवर्तन नआएको हिक्मतको भनाइ रहेको खवर नागरिकमा छ । ‘देशमा आमुल परिवर्तनको नाममा १० वर्षसम्म जनयुद्वको बेला लडेका हामीहरूको अवस्था अहिले पनि उस्ताको उस्तै छ,’ हिक्मतले भने, ‘तर हाम्रो कारण सडकमा भएका नेताहरू रातारात महलमा पुगेका छन्, यहाँ व्यवस्थाको नाम मात्र परिवर्तन भए पनि नेपाली जनताको अवस्था भने उस्तै छ।’

यि त केहि उदाहरण मात्र हुने यहाँका थुप्रै पूर्वलडाकुले देशमा व्यवस्था परिवर्तन भए पनि आफ्नो जीवनस्तरमा परिवर्तन हुन नसकेको बताउने गरेका छन्। पछिल्लो समय पार्टीले समेत आपूmहरूलाई बिर्सिँदै गएको पूर्वलडाकुको गुनासो छ। पार्टीका नेताहरूले मुख्य अजेन्डा भुलेर आफ्नो स्वार्थ पूरा गर्न माओवादी पार्टी नै फुटाएर चिराचिरा पारेको अर्का पूर्वलडाकु धनबहादुर पुनको भनाइ छ। पार्टी विभाजन हुनाले समेत जनयुद्वको मुख्य अजेन्डा गुमेको उनको बुझाइ छ। जनयुद्व सफल पार्नको लागि आफूहरूले ठुलो योगदान गरेको भए पनि अहिले पार्टीले बिर्सीदै गएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्