फास्ट ट्रयाक:  पैसा दिने सरकार, बाटो खन्ने ठेकेदार, बीचमा सेनाले गर्छ के ? 



काठमाडौं: काठमाडौं-निजगढ फास्ट ट्रयाक सेनाले जिम्मा लिएको खबर सुनेका धेरैलाई लाग्छ-राष्ट्रिय सेनाले बाटो खनिरहेको छ तर वास्तविकता, सेना आफैँले बाटो बनाउने होइन, सरकारबाट पैसा लिने, ठेकेदार छान्ने र खटाउने मात्र हो । 

आइतबार अपराह्न मकवानपुरको सिस्नेरीस्थित सेनाको क्याम्पभन्दा करिब एक किलोमिटर दूरीको छालाटारस्थित अनकन्टार भिर खोल्न दुई स्काभेटर सक्रिय थिए । साइट इन्चार्ज यदुवंश अधिकारी स्काभेटरचालकलाई जोगिएर काम गर्न निर्देशन दिँदै थिए । पहाड फोर्नु जोखिमपूर्ण रहेको बताउँदै उनले सुनाए, ‘हामी मोतीदान कन्स्ट्रक्सनका कर्मचारी हौँ । गत वैशाखदेखि निरन्तर पहाड फोड्दै आएका छौँ । हामीमातहत मात्रै ४० भन्दा धेरै कामदार कार्यरत छन् । उनीहरूमध्ये कोही ड्रिलिङमा संलग्न छन्, कोही स्काभेटर चलाउँछन् । काम जोखिमपूर्ण छ ।’ 

त्यस्तै, गजुरमुखी कन्स्ट्रक्सनका इन्जिनियर अशोककुमार मण्डलका अनुसार यो खण्डमा धेरै ठाउँमा पहाड खोप्नुपर्छ । र अधिकांशको ठेक्का निजी कम्पनीले पाएका छन् । मण्डलले भने, ‘यस खण्डअन्तर्गत पहाड फोर्नुपर्ने काम धेरै छन् । यहाँका अधिकांश काम निजी कम्पनीबाट हुँदै आएका छन् । ठेक्का दिने र रेखदेख गर्ने काम सेनाले गर्छ, केही ठाउँमा सेनाले पनि काम गरिरहेको छ ।’ 

सरकारबाट पैसा लिने, ठेकेदार छान्ने र निर्माणको रेखदेख गर्ने काम सेनाले गर्छ । निगरानीका लागि सेनाले विभिन्न ठाउँमा क्याम्प खडा गरेको छ । सिस्नेरी क्याम्पमा भेटिएका सेनाका प्राविधिक सुबेदार तुलाराम खड्काले भने, ‘द्रुतमार्गको ट्र्याक खन्ने काम सेनाकै निगरानीमा द्रुत गतिमा भइरहेको छ । हाम्रो क्षेत्रभित्र पनि साढे ९ किमि सडकखण्ड पर्छ । त्यसमध्ये २ किमिको ट्रयाक  खोल्ने कामचाहिँ सेनाकै प्राविधिक र निर्माण सामग्रीमार्फत भइरहेको छ । बाँकी पेटीमार्फत निजी ठेकेदार कम्पनीले गर्दै छन् ।’ 

७६ किमि फास्ट ट्रयाक  निर्माणको ठेक्का पाएको नेपाली सेनाले आफ्नै कर्मचारी र निर्माण सामग्री प्रयोग गरेर २२ किमि मात्रै ट्रयाक खोल्दै छ । ५४ किमि ट्रयाक  निजी कम्पनीले खोल्दै छन् । ५४ किमि सडक निर्माणमा निजी २७ र सेनासमेत गरी २८ ठेकेदार परिचालन भएका छन् । ट्र्याक खोल्न खास कति पैसा लाग्ने हो भन्ने निश्चित छैन । सेनाले निजी कम्पनीलाई ठेक्का दिन्छ र सोबापत सरकारबाट पैसा लिन्छ । सेनाले मागेको पैसा सरकारले निकासा दिन्छ । 

मक्खुबेसीमा ६ किमि, सिस्नेरीमा २ किमि, बुदुनेमा २ किमि, लेनडाँडामा २ किमि र निजगढमा १० किमि ट्र्याक खन्न मात्रै सेना आफैँ संलग्न छ । निजगढमा काम सकिएको छ भने अन्य भागमा भइरहेको छ । सेना आफैँले काम गरेको सिस्नेरी खण्डबाहेक अन्य सबै ठाउँमा तुलनात्मक रूपमा सजिलो छ । निजी ठेकेदार कम्पनीले जिम्मा लिएका अधिकांश खण्डमा चट्टानी पहाड फोड्नुपर्ने भएकाले ट्र्याक खोल्ने काम थप जटिल बनेको खवर नयाँपत्रिकामा छ । 

प्रतिक्रिया दिनुहोस्