कांग्रेस नेता बास्ताेलाकाे श्रद्धाञ्जलि दिउँसो १ बजे पार्टी कार्यालयमा



काठामाडाैं :  शनिबार बेलुका निधन भएका कांग्रेस नेता चक्रपसाद बास्तोलाको आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलि गरिने भएको छ ।  साथै आजै दाहसंस्कार पनि गरिने कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी गराएका छन् ।  

 

निधिका अनुसार बेलायतमा रहेकी बास्तोलाकी जेठी छोरी ११ बजे काठमाडौं आइपुग्दै छिन्। जेठी छोरी आएपछि दिउँसो १ बजे बास्तोलाको शवलाई पार्टी कार्यालय सानेपा लगिने छ।

 

यसैगरी कान्छी छोरी ४ बजे काठमाडौं आएपछि सीधै पार्टी कार्यालय गएर श्रद्धाञ्जली दिएपछि दाहसंस्कारका लागि पशुपति अर्याघाट लगिनेछ। उपसभापति निधिले आजै २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकसमेत बस्ने जनाए । 

 

बैठकमा बास्तोलाको निधनमा शोकप्रस्ताव पारित गर्ने बताइएको छ। ०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालाई सम्बोधन गर्ने क्रममा लडेका नेता बास्तोलालाई मस्तिष्कघात भएको थियो।

 

उनी ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए। मस्तिष्कघात भएपछि बास्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो।

 

कांग्रेस केन्द्रीय नेता शेखर काेइरालालगायत शीर्ष नेताहरु बास्ताेल निवास पुगेका थिए । 

 

तर, उपचार सम्भव नभएपछि बास्तोलालाई पछिल्लो समय घरमै चिकित्सकहरूको निगरानीमा उपचार गरिँदै आएको थियो। ०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए। उनका श्रीमती र दुई छोरी छन्।

 

यसैबीच, महँगीविरुद्ध पार्टीले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश र केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित गरिएको कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी गराए।

 

पार्टी नेता तथा पूर्वमन्त्री बास्तोलाको निधन भएपछि कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले ज्ञापनपत्र बुझाउने कार्यक्रम हाललाई स्थगित भएको जानकारी दिँदै पछि तय गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्