प्रणय दिवस : ‘मायालु डाँडा’ मा प्रेमिल माहोल



म्याग्दी : भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीय स्थल ‘लव्लीहिल’ (मायालु डाँडा) मा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका वडा नं २ खबरामा अवस्थित मायालु डाँडामा युवायुवतीहरुको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दुरीमा रहेको ‘मायाँलु डाँडा’ (लव्लीहिल) मा केही दिनयता युवायुवतीहरु आउने क्रममा उल्लेख्य बृद्धि भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताए ।  

हिजोआज म्याग्दीका मात्रै होइन देशका विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुका साथै विदेशीहरुको समेत यहाँ भीड लाग्न थालेको उनको भनाइ थियो । पहिला पहिला खाजाका विभिन्न परिकारहरु बोकेर आउने युवायुवतीहरु भ्यालेन्टाइन डे को माहोल शुरु भएपछि गुलाब र विभिन्न जातका फूलहरु लिएर एकापसमा साटासाट गरेका दृश्यहरु देखिने गरेका लम्भीहिल हरितपार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिए ।

‘विभिन्न आधुनिक पोसाकहरुमा सजिएर वाइक, स्कुटी लगायतका सवारी साधनहरुमा आउने युवायुवतीहरुको संख्या पहिलेको तुलनामा केही दिनयता बृद्धि भएको छ’ घिमिरेले भने ‘युवायुवतीहरुको संख्या बृद्धि संगै यहाँका कृषि उपज र फलफूलहरुको पनि व्यापार बढेको छ । यहाँ पूर्वाधारहरु निर्माण गरिएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो ।  साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लव्लीहिल बन्न पुगेको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्लीहिलमा अहिले दिनहुँजसो सयौंको सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

स–साना बालबालिकादेखि पाका उमेरका मानिसहरु पुग्ने गरेका छन् । हाँडेभीर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट प्रस्तावित पदमार्ग निर्माण भएपछि लभ्लीहिलमा पुख्ने पर्यटकको संख्या तीन गुणाले बढ्ने अपेक्षा गरिएको बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले बताए । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारी सरकारी निकाय, निजी क्षेत्र र प्रवासी म्याग्देलीको संयुक्त रुपमा पर्यटन पूर्वाधार योजना अन्तर्गत पदमार्ग निर्माण गर्न लागिएको म्याग्दी उद्योगवाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । कुल ५७ लाख, आठ हजार, २ सय,६० रुपैयाँ लागत अनुमान गरिएको पदमार्गको निर्माणमा बेनी नगरपालिका, मोना र उद्योग वाणिज्य संघले क्रमशः५०, ४० र १० प्रतिशत लगानी गर्ने गरी यसअघि नै समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लब्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सुर्यास्तकोसमेत मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ । बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ ।  कृषि गाउँको रुपमा परिचित खबरा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त लव्लीहिलमा‘भ्यालेन्टाइन डे’ का अवसरमा मात्र होइन सधैभरी पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले हरित पार्क निर्माण गर्न लागिएको स्थानीय ध्रुवराज कार्कीले बताए । हरितपार्क निर्मार्णसंगै सभा, सम्मलेलन र सेमिनारका लागि उपयुक्त हुने सभाहल समेत बनाउने योजना रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्