कोरोना संक्रमित बढेपछि कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल’



कपिलवस्तु : कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल’ गरिने भएको छ ।

कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले लागू लकडाउन प्रभावकारी बनाउन भन्दै जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला सिल गर्ने निर्णय गरेको हो ।

यसअघि २९ वैशाखदेखि जेठ ५ गतेसम्म जिल्ला सिल गर्ने निर्णय भएको थियो । अब जेठ २० गतेसम्म नै जिल्ला सिल गरिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

बैठकले तरकारी, खाद्यान्न र अतिआवश्कीय समान खरिद गर्ने समय पनि छोट्याउने निर्णय गरेको छ ।

सुरक्षा समितिका अनुसार सोमबार, बुधबार र शनिबार बिहान ७ देखि ९ बजेमात्र तोकिएको छ । यसअघि प्रत्येक दिन बिहान २ घण्टाको समय तोकिएको थियो ।

जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारीसाधन र मानिसको आवतजावतलाई पुरै रोक लगाइएको छ । उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र निर्माणसँग सम्बन्धित सबै काम गर्न समेत रोक लगाइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० दफा २ (१) बमोजिम पूर्ण रुपमा रोक लगाइएको प्रजिअ पौडेलले बताए ।

जिल्लाका १० स्थानीय तहमध्ये ९ पालिकामा सोमबारसम्म ४३ जना कोरोना संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्