वन संरक्षण गर्न स्थानीयले आफै बनाए कानुन



म्याग्दी : जिल्लाको सबैभन्दा दुर्गम भेगमा रहेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वासिन्दाले वनको संरक्षण र वन्यजन्तुको चोरी निकासीलाई रोक्न स्थानीय स्तरमा नै कानुन बनाएका छन् ।

गुर्जामा विहीवार सम्पन्न गाउँलेको भेलाले वन संरक्षण, वन्यजन्तुको चोरी निकासी रोक्ने र जुवातास नियन्त्रण गर्नेसम्बन्धी कानुन बनाएका हुन् ।स्थानीय युवा क्लब, आमा, समूह तथा वडा कार्यसमितिबीच भएको भेलाले वडामा अहिलेसम्म भएका कार्यक्रमहरुको समिक्षासमेत गरेको धौलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वडा अध्यक्ष झबहादुर छन्त्यालले जानकारी दिए ।

वडा अध्यक्ष छन्त्यालका अनुसार भेलाले वन पैदावार र वन्यजन्तुको चोरी शिकारीलाई रोक्नका लागि वडावासीको सहमतिमा नयाँ नियम बनाइएको र त्यसलाई कडाइका साथ पालना गर्न गाउँवासीले प्रतिवद्धता जनाएका छन् ।

त्यसका लागि अवैध वन पैदावार, चोरी तथा शिकारी रोक्नका लागि स्थानीय रुपमा जनसचेतनामुलक कार्यक्रमको अभियान सञ्चालन गर्ने, वन संरक्षणका लागि रुख, दाउरा नकाट्ने तथा जथाभावि जंगल फंडानीलाई नियन्त्रण गर्ने, वडाबासीसँग भएका अवैध हातहतियार संकलनमा सघाउ पुर्याउन ३५ दिने सूचना जारी गर्ने र शिकारीहरुको जिविकाको वैकल्पिक उपाय अपनाउनमा सहयोग गर्ने निर्णय भएको छ । 

त्यसैगरी वडामा जुवा, तास तथा मद्यपानलाई प्रतिबन्ध लगाइने र त्यसका लागि युवाले सहयोग गर्ने ऐक्यबद्धता पनि जनाएका वडा अध्यक्ष छन्त्यालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्