साउनयता मात्रै वीरगन्ज नाका भएर दुई अर्बकाे मदिराजन्य वस्तु अायात



वीरगन्ज : साउनदेखि असोजसम्म तेस्रो मुलुकमा उत्पादित महँगा मूल्यका मदिरा र इनर्जी ड्रिङसको आयात बढ्ने गरेको छ। दसैं तिहार र अन्य चाडपर्वका बेला खानपानमा मदिरा र शक्तिवर्द्धक जुस (इनर्जी ड्रिङस) अत्यधिक खपत हुने हुँदा तेस्रो मुलुकबाट मदिरा र इनर्जी ड्रिङसको बढ्ने गरेको हो

 

यसपालि दसैंतिहारलाई लक्ष्य गरी साढे दुई महिनाको अवधिमा वीरगन्ज नाकाबाट मात्रै करिब दुई अर्ब रुपैयाँ मूल्य बराबरको मदिरा र इनर्जी ड्रिङस तेस्रो मुलुकबाट नेपाल भित्रिएको छ। वीरगन्जमा रहेको वीरगन्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह गरी दुवै नाका हुँदै चालु आर्थिक वर्ष २०७५/०७६ को साउन १ देखि असोज १५ गतेसम्म तेस्रो मुलुकबाट दुई अर्ब ६० लाख ७८ हजार नौ सय ३३ रुपैयाँको एक करोड ६ लाख २६ हजार चार सय ८७ लिटर मदिरा र इनर्जी ड्रिङस आयात भएको हो।

 

गत आर्थिक वर्ष २०७४/०७५ को यही अवधिमा एक अर्ब १६ करोड ५८ लाख ९५ हजार चार सय ५५ रुपैयाँको ८६ लाख ८८ हजार दुई सय ४५ लिटर मात्र मदिरा र इनर्जी ड्रिङस वीरगन्ज नाका हुँदै आयात भएको थियो। गत आर्थिक वर्षको दुई महिनाभन्दा चालु आर्थिक वर्षको सोही अवधिमा ८४ करोड एक लाख ८३ हजार चार सय ७८ रुपैयाँ बढी मूल्यको मदिरा र इनर्जी ड्रिङस वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको हो।

 

चालु आर्थिक वर्षको साउनदेखि असोज १५ सम्म वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट मात्रै एक अर्ब २० करोड ७२ लाख रुपैयाँको ७५ लाख ९२ हजार सात सय ३३ लिटर मदिरा र इनर्जी ड्रिङस आयात भएको छ।

 

यस्तै वीरगन्ज भन्सार नाका हुँदै ७९ करोड ८८ लाख नौ हजार रुपैयाँको ३० लाख ३३ हजार सात सय १४ लिटर मदिरा र इनर्जी ड्रिङस नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्