एपीवान टेलिभिजनको प्रेस कार्ड बोकी चोरी गर्ने २ जना पक्राउ



काठमाडौं– महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले काठमाडौँका विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने २ जनालाई नियन्त्रणमा लिएको छ ।

सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने आश्रय रिजाल र बारा बड्की फूलबारी गाउँपालिकाका २८ वर्षीय अलि आलम मियालाई नियन्त्रणमा लिएको हो।उनीहरूको साथबाट प्रेसको कार्ड पनि फेला परेको छ ।

मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले रोकेर चेक गर्दा प्रेसको मानिस भन्दै उम्कन खोजेका थिए। उनीहरूले एप वान टेलिभिजनको कार्ड समेत देखाएका थिए।

प्रहरीले उनीहरूलाई मङ्गलवार चाबहिलको भत्केको पुलबाट पक्राउ गरेको थियो। गत चैत ३ गते सिनामंगल स्थित एक होटेलबाट ४ थान ल्यापटप, चैत २४ गते दिउँसो चाबहिल भत्केको पुल स्थित सुबिन मानन्धरको म्याक बुकलगायतका सामान चोरी गरेको अनुसन्धानमा खुलेको छ।

उनीहरूको साथबाट प्रहरीले विभिन्न ब्रान्डका ल्यापटप, क्यामेरा, ५३ हजार रुपैयाँ लगायत केही विदेशी रकम समेत फेला परेको थियो। उनीहरुले प्रेस पास देखाउँदै उम्किन खोजेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्