बाआमा पोइलजोइल गएपछि नाति हुर्काउँदै वृद्ध हजुरआमा



म्याग्दी : ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तान निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दैनन् भनेर आमाको महिमागान गरिएको छ ।

तर, यसको ठीक विपरीत म्याग्दीको बेनी नगरपालिका–२ मा बुबाआमा दुवै यतिसम्मका निर्दयी देखिएका छन् कि त्यो कुरा सुन्दा र पढ्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।

आफैंले जन्माएका दुई छोरालाई आमाबुबा दुवैले चटक्कै छाडेर अर्को विवाह गरेपछि बेसहारा बनेका दुई नातिलाई ७५ वर्षीय हजुरआमाले विद्यालयको चर्पीमा राखेर पालिरहेकी छिन् । कमाइ खानका लागि एक सुर्को बारी र ओत लाग्नका लागि एउटा छाप्रोसम्म नभएकी ७५ वर्षीया जमुना सुनार ‘डाँडामाथिको घाम’ जस्तै कुन बेला अस्ताउने हुन् पत्तो छैन । उनै जमुनाको काँधमा दुई नातिलाई पाल्ने र पढाउने जिम्मेवारी थपिएको छ ।

बेनी नगरपालिका–२ तमानेका राजु सुनारका दम्पतीले आफ्ना दुई छोरासहितको परिवारलाई भताभुंग बनाई छोराहरूलाई अलपत्र बनाएर दोस्रो विवाह गरेको रहस्य खुलेको छ । बाबा र आमाले नै दोस्रो विवाह गरेर छोराहरूलाई बिचल्लीमा पारेपछि नातीहरूको हुर्काइपढाइको जिम्मा अहिले ७५ वर्षीया हजुरआमा जमुनाको काँधमा आएको छ । सुकुमवासी परिवारकी सुनारका कान्छा छोरा राजुका दम्पतीले दुई छोरालाई वृद्ध आमालाई सुम्पिएर बेखबर बनेका छन् ।

छोराबुहारीले नातीहरूलाई अलपत्र पारेर हिँडेपछि दुई वर्षदेखि हजुरआमा जमुनाले दुई बालकको रेखदेख र पालनपोषण गर्दै आएकी छिन् । वृद्धभत्ताबाहेक आम्दानीको कुनै स्रोत नभएको र नातिहरूको पढाइका लागि अहिले सुनारले बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमै बास बस्ने गरेकी छिन् । ‘पहिले बालुवा चाल्ने काम गर्थें, अहिले काम गर्न सक्ने अवस्था पनि छैन, आम्दानी नभएपछि कोठा भाडा तिर्न सक्ने अवस्था भएन, भाडा तिर्न नसक्ने भएपछि अहिले विद्यालयमै बास मागेर बसेका छौँ,’ सुनारले भनिन् ।

विद्यालयको प्रयोगविहीन शौचालयमा बसेर अहिले सुनारले नातिहरू ९ वर्षीय एनस र ७ वर्षीय सिमसनको हुर्काइपढाइ गराउँदै आएकी छिन् । विद्यालयमा पढ्दै आएका बालक र उनकी हजुरआमा कोठा भाडा तिर्न नसकेर बासको खोजीमा आएपछि शौचालयको प्रयोजनका लागि निर्माण भए पनि चौकीदारको कोठाका रूपमा प्रयोग हुँदै आएको ठाउँलाई मानवीय सहयोगका रूपमा बास बस्न दिइएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कार्कीले बताए । 

 

प्रतिक्रिया दिनुहोस्