गुर्जामा छैटौंपटक हिमपात



म्याग्दी : म्याग्दीको उच्च पहाडी क्षेत्रमा दुई साताअघिको हिउँ पग्लिन नपाउँदै शनिबार बिहानैदेखि पुनः हिमपात सुरु भएको छ । गुर्जामा यस वर्षको अहिलेसम्म छैटौं पटक हिमपात भएको छ ।

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा आज बिहानैदेखि हिमपात भएपछि जनजीवन कष्टकर बनेको वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिए । शनिबार बिहानैदेखि पुनः हिउँ पर्न थालेपछि अत्यधिक चिसो बढेका कारण घरबाहिर निस्कन पनि मुस्किल भएको उनले बताए । चिसोले बालबालिका, वृद्धवृद्धालगायतलाई बढी कष्ट भएको छन्त्यालको भनाइ छ ।

हिमपातका कारण बस्तुभाउलाई आहाराको समस्या हुन थालेको छ ।  अत्यधिक वर्षा र हिउँले खेतीबालीमा क्षति पुगेर कृषक चिन्तित भएको छन्त्यालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्