राजस्व छलि गरेको आरोपमा वडा अध्यक्षसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



वीरगन्ज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिका १६ का वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसियासहित ३ जना विरुद्ध राजस्व छली अभियोगपत्र दर्ता गरेको छ ।

जग्गा खरिद बिक्री हुँदा राजस्वमा हानी पुर्याउने, गलत लिखत तयार गर्ने र गैरकानुनी लाभ हानी पुर्याउँनेसहितको भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा वडाध्यक्ष चौरसिया सहित जग्गा खरिदकर्ता र बिक्रीकर्ता विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो ।

वडाध्यक्ष चौरसियासहित जग्गा बिक्रीकर्ता जहराती मिया धुनिया र खरिदकर्ता ग्यान्ती देवीविरुद्ध राजस्व छली सम्बन्धी आरोप पत्र शुक्रबार विशेष अदालतमा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

अध्यक्ष चौरसियाले धुनियाको जग्गामा गलत घरबाटो सिफारिस गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा वडा नम्बर १६ साबिक इनर्वाभाठा (वी) वडा नम्बर ५ को जग्गाधनी धुनियाको जग्गामा २८ फीटको पीच बाटो रहेको छ ।

मालपोत कार्यालय, पर्साको आर्थिक वर्ष २०७४ र ०७५ को जग्गाको न्यूनतम मूल्याङ्कन पुस्तिका बमोजिम उक्त जग्गाको न्यूनतम मूल्याङ्कन प्रतिकठ्ठा ६० लाख देखिएपनि धुनियाँले ग्यान्ती देवीलाई ११ धुर जग्गा बिक्री गर्दा ३३ लाख न्युनतम मुल्यांकन हुनुपर्नेमा ७ लाख ७० हजार मात्र मूल्यांकन राखेका थिए ।

२५ लाख ३० हजार कम मुल्यांकन राखेर पुंजीगत लाभकर बापतको ८२ हजार ५ सय र रजिष्ट्रेशन दस्तुर बापतको ९४ हजार ८ सय ७५ रुपैया गरी कुल १ लाख ७७ हजार ३ सय ७५ रुपैया कम राजस्व दाखिला भएकोले वडा अध्यक्ष चौरसिया सहित सहित तीनैजनाविरुद्ध आरोप पत्र दायर गरिएको कोईरालाले बताए ।

वडाध्यक्ष चौरसियाले जग्गा खरिद बिक्री हुने बेला घरबाटो सिफारिस गर्दा २८ फीटको पीच बाटो भएको सिफारिस पत्र नराखी १५ फीटको ग्राबेल बाटो भनी गलत लिखत तयार गरी घरबाटो सिफारिस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

वडाध्यक्ष चौरसियाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (३) र दफा ९ बमोजिमको कसूरमा बिगो १ लाख ७७ हजार ३ सय ७५ रुपैया कायम गरी ऐनको दफा ८ को उपदफा (३) र दफा ९ बमोजिमको सजाय हुन मागदावी गरिएको उनले बताए ।

त्यस्तै जग्गा बिक्रीकर्ता जहराती मिया धुनियाविरुद्ध बिगो रु ८२ हजार ५ सय कायम गरि बिगो रकम असुल गरी जफत हुन मागदाबी लिइएको छ । नेपाल सरकारले निर्धारित गरेको नियम, कार्यविधि र स्वीकार गरेको शर्त उलंघन हुने गरी प्रचलित कानूनद्धारा निर्धा्रित पुंजीगत लाभकर नतिरी सरकारलाई हानि नोक्सानी पारेको पुष्टि हुन आएकोले धुनियामाथि पनि भ्रष्टचार ऐन अन्तरगत मुद्दा चलाईएको छ ।

उनले पनि भ्रष्टचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिमको कसूर भएकोले विगो रु ८२ हजार ५ सय कायम गरी सोहि दफा बमोजिम बिगो रकम असुलउपर गरी जफत हुन माँग दावी गरिएको उनले बताए । त्यसैगरी जग्गा खरीदकर्ता ग्यान्ती देवीलाई समेत भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

ग्यान्ती देवीले पनि सरकारले लागु गरेको शर्तको उलंघन हुने गरी प्रचलित कानूनद्धारा निषेधित तवरबाट कार्य गरेको पुष्टि हुन आएकोले उनमाथि भ्रष्टचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिमको कसूरमा रजिष्ट्रेशन दस्तुरबापत कम तिरेको राजस्व ९४ हजार ८ सय ७५ रुपैया विगो कायम गरी सोहि दफा बमोजिम भ्रष्टाचर ऐन अन्तरगत विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्