क्वारेन्टिनमा बस्नेलाई भत्ता



पश्चिमरुकुमः पश्चिमरुकुमको चौरजहारी नगरपालिकाको क्वारेन्टिनमा बस्नेलाई दैनिक १७८ रुपैयाँ दिने निर्णय भएको छ ।

यसअघि क्वारेन्टिनमा बसेकालाई नगरपालिका आफैंले खाने व्यवस्था गरेकामा अब नगद दिने निर्णय गरेको हो । नगरपालिकाका अनुसार भारत तथा अन्य ठाउँबाट आउनेलाई १४वटै वडाका क्वारेन्टिनमा राखिनेछ ।

क्वारेन्टिन बसेका व्यक्तिले खानाका लागि हरेक क्वारेन्टिनमा पकाउने भाँडाको व्यवस्था गरिएको छ । आफूले खाने थाल, कचौरा, गिलास र ओढ्ने-ओछ्याउने कपडा सम्बन्धित व्यक्तिले ल्याउनुपर्ने नियम बनाइएको छ ।

क्वारेन्टिनमा नगरपालिकाले मास्क, स्यानिटाइजर, साबुन, खानेपानीका लागि ड्रम, फिल्टर र शौचालय सफाइका सामग्री प्रदान गरेको छ । दाउराको समस्या हुने वडामा ग्यास र चुलाको व्यवस्था पनि गरिने नगरप्रमुख विशाल शर्माले बताए ।

भत्ता दिने व्यवस्थासँगै अब बिहान र दिउँसोको नास्ता तथा साँझ-बिहानको खानाको व्यवस्था क्वारेन्टिनमा बस्नेले आफैले गर्नुपर्ने छ । चौरजहारी नगरपालिकाबाट तीन हजार २४४ जना भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका छन् ।

उनीहरु घर फर्कन शुरु गरेको र शुक्रबार मात्र ३४ जना भित्रिएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई सम्बन्धित वडामा पठाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्