आफ्नै नगरवासीलाई लैजान पनि आनाकानी



गलकोट : जिल्ला सदरमुकामसम्म ल्याइएका आफ्ना नगरवासीलाई लैजान पनि यहाँको जैमिनी नगरपालिकाले आनाकानी गरेको पाइएको छ । जिल्ला कमाण्ड पोष्ट र प्रहरीको विशेष पहलमा कपिलवस्तु र भैरहवामा अलपत्र परेका जिल्लाका ३९ जना नागरिकमध्ये बिहीबार चारजना आएका थिए । ती सो नगरवासी रहेको बताइएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहले आफ्ना नागरिकलाई गाडी व्यवस्था गरेर सम्बन्धित स्थानमा लगे पनि सो नगरपालिकाले ‘आफ्नो उद्धार गर्ने नीति नभएको’ भन्दै पन्छिएको थियो । यसपछि शुक्रबार राति १० बजे ट्र्याक्टरमा उनीहरुलाई पठाइएको थियो । बागलुङ बजारबाट सो नगरपालिकाको वडा नं ३ दमेकमा छोड्न गएका ट्र्याक्टर चालकलाई रु आठ हजार भाडा दिने भनिए पनि भाडासमेत नदिएको बताइएको छ ।

तनहुँको डुम्रेमा दुईजना सो नगरवासी अलपत्र अवस्थामा छन् । ‘मेयर साबलाई आउँदैछम् के व्यवस्था छ भनेर फोन गर्दा प्रहरीको संयोजनमा आएको भए प्रहरीले ल्याउला’ भन्ने जवाफ आएको भारतबाट बागलुङको जैमिनी नगरपालिका–९ का चन्द्रबहादुर घर्तीले जानकारी दिए । भारतको उत्तराखण्डबाट चारदिन पहिला महेन्द्रनगर आएको र स्थानीय तहले नै परीक्षण गर्ने भन्दै घर पठाएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले उद्धार भएर आउने स्थानीय तहका नागरिकको विषयमा दुई दिनअगावै जानकारी गराए पनि सो नगरपालिकाले बेवास्ता गर्दै आएको जनाएको छ ।

आफ्ना नागरिको उद्धार गर्ने इच्छा भए पनि स्रोत र साधनको अभावमा उद्धार गर्न नसकिएको सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिए । “हामीले एकमुष्टरुपमा सिमानामा गएर जैमिनीका मात्रै बसमा राखेर ल्याउन खोजेका थियौँ, त्यो नै प्रभावकारी हुन्थ्यो”, उनले भने, “बिहीबार र शुक्रबार आएका नगरका नागरिक कसको संयोजनमा आए नगरलाई थाह छैन, प्रहरीले लिएको हो भने उसले नै यहाँसम्म पठाइदिनुपर्छ ।” एक्कासि शुक्रबार उद्धारका लागि गाडी पठाउन फोन गएका कारण उद्धारमा समस्या भएको उनको भनाइ छ ।

जैमिनीमा तीन हजार व्यक्ति आउन सक्ने आँकलन गरिएको भन्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले पनि सीमित स्रोत साधनका कारण समस्या भएको गुनासो गरे । उनले भाडा तिर्न सक्ने आफैँ आउनुपर्ने र भाडा तिर्न नसक्नेको भने भाडा व्यवस्थापन गरिदिने बताए ।

ट्र्याक्टरमार्फत जैमिनी नगरपालिका पठाएकाहरु वडा नं ३ को क्वारेन्टिनमा छन् । नगरपालिकाले ८१ श्ययाको क्वारेन्टिन निर्माणको चरणमा रहेको जनाएको छ ।

अवैध घरेलु मदिरा नष्ट

जिल्लाको बागलुङ नगरपालिका–१० गलुवामा शुक्रबार साँझ प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । लकडाउनका समयमा पनि मदिराको कारोवार बढ्दै जानथालेपछि प्रहरीले कडाइ गर्न थालेको छ । गलुवामा घरेलु मदिरा सेवन गरी होहल्ला गरेको भन्ने खबरका आधारमा प्रहरी गलुवा पुगेको थियो ।

गलुवाका स्थानीय दुईजनाको घरमा रहेको अवैध २०० लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । स्थानीय प्रशान्त पौडेलको घरबाट १७० र रोमान्त मल्लको घरबाट ३० लिटर गरी २०० लिटर घरेलु मदिरा जफत गरी तत्कालै नष्ट गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्