बाघ गैंडा संरक्षणका लागि सुधार योजना



चितवन :  चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ गैंडा जस्ता जनावर एकपछि अर्को मर्ने क्रम बढेपछि यसको संरक्षणमा बासस्थान सुधारका योजना अगाडि बढाइएको छ । जनावर एकपछि अर्को मर्नुका अनेक कारणहरू मध्येमा मुख्य कारण बासस्थानकै समस्या रहेको जानकारीमा आएपछि सुधारको योजना अगाडि बढाइएको हो ।

‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग समन्वय गरेर अहिले बाघ गैंडा जस्ता जनावरको बासस्थान सुधारमा लागेका छौ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।

उनले भने, ‘अहिले निकुञ्ज भित्रका बाघ, गैंडाजस्ता जनावर मर्ने तथा निकुञ्जबाहिर मानवबस्तीमा आएर सर्वसाधारणलाई दुःख दिनु भनेको निकुञ्जभित्र नासिदै गएको घाँसे मैदान र पुरिदै गएका पोखरीका कारणले हो भन्ने हाम्रो निष्कर्ष हो । यसैले पहिला हामी बासस्थान सुधार गर्न लागेका छौं ।’

कुल ९२८ वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जमा पहिला २० प्रतिशत घाँसे मैदान थियो तर अहिले घट्दै गएर १० प्रतिशतभन्दा थोरै भएको छ । निकुञ्जका पोखरी पनि सुक्दै गएका छन् । सयभन्दा बढी निकुञ्जका घोल पुरिदै र पुरिने अवस्थामा रहेकाले पनि समस्या आएको हो ।

वन्यजन्तुका लागि पानीको ब्यवस्था गर्न कतिपय ठाउँमा कृत्रिम पोखरी बनाइए पनि त्यो प्रभावकारी हुन सकेको छैन । निकुञ्जले गर्न लागेको बासस्थान सुधारअन्तर्गत घासेमैदानको सुधार र निकुञ्ज भित्रका घोलको संरक्षण गर्दै कृत्रिम ताल निर्माण नै हुन् ।

‘हात्ती गैंडालाई पानी आहाल खेल्ने घोल र पोखरी चाहिन्छ । पहिलो चरणमा हामीले निकुञ्जभित्र ६० वटा कृत्रिम पोखरी बनाउँदैछौं’, प्रमुख संरक्षण अधिकृत ढकालले भने । उनले निकुञ्जभित्र गएको वर्ष ८० हेक्टर घासेमैदान सुधार गरिएको र यो वर्ष थप दुईसय हेक्टर घासेमैदान सुधारका योजना रहेको पनि जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्