लकडाउन अवज्ञा गर्ने ६७१ सवारीसाधन कारवाहीमा



जुम्ला : जुम्लामा लकडाउन उल्लङ्घन गर्ने र सवारी पास दुरुपयोग गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ । गत चैत १० देखि जेठ १० गतेसम्म ६७१ सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिई कारवाही गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए । उनले भने, “९६ चारपाङ्ग्रे ठूला सवारी साधन र ५७५ दुईपाङ्ग्रे मोटरसाइकल गरी जम्मा ६७१ सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको छ ।”

निश्चित प्रयोजन र समयावधिका लागि भनी तोकिएको पासलाई अवधि समाप्त भएपछि वितरित पासको प्रयोग गरी दुरुपयोग गरेको पाइएकाले सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको प्रशासनले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरिएकाले पालना गर्न गराउन थप कडाइ गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

दुई हजार ७०० को पिसीआर जाँच, रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दुई हजार ७६० को पिसीआर परीक्षण गरिएकामा सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये माथिल्लो कर्णालीका चार जिल्ला मुगु, हुम्ला, कालीकोट र जुम्लाबाट सङ्कलित स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले प्रतिष्ठानमा शुक्रबारसम्म सङ्कलित स्वाबको पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताए । भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढदै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको डा रावलले बताए ।

कालीकोटबाट ६९५, मुगुबाट ३५१, जुम्लाबाट एक हजार २७३, हुम्लाबाट ४०८ स्वाबको पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा पिसीआर उपकरण सञ्चालनमा नआउनुअघि जुम्लाका ३३९ को पिसीआर र २७२ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

९७ सुरक्षाकर्मीको कोरोना जाँच

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अहिले सुरक्षाकर्मी (प्रहरी, सेना, सशस्त्र) अग्रपङ्क्तिमा परिचालन छन् । क्वारेन्टिनको रेखदेखदेखि लकडाउनको पालना गर्नेमा सुरक्षाकर्मीलाई खटाइएको छ । कोरोना भाइरसबाट सुरक्षाकर्मी पनि जोखिममा भएकाले ९७ जनाको कोरोना जाँच गरिएको हो । नेपाली सेना ७० र प्रहरी १७ गरी ८७ जनाको पिसीआर परीक्षण गरिएको छ भने १० प्रहरीको आरडिटी गरिएको हो । कोरोना परीक्षणमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले बताए ।

कोभिडको आशंकाले मृत्यु भएको व्यक्तिको रिपोर्ट नेगेटिभ

जुम्लाको हिमा गाउँपालिका–२ ओदीगाउँका ३८ वर्षीय एक व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसको सङ्क्रमण आशङ्का गरिएको थियो । मृतकको घरका पाँच सदस्यलाई ज्वरो आउने, कपाल दुख्ने भएपछि कोरोना सङ्क्रमणको आशङ्का गरिएको हो । जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले भने, “कोरोना भाइरस सङ्क्रमणको आशङ्काले मृत्यु भएको जानकारी आएपछि स्वाब सङ्कलन गरी ल्यायौँ ।” मृतकसहित दुई छोरी, एक छोरा र श्रीमतीको सङ्कलन गरी ल्याएको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको पिसीआर उपकरणमा परीक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

“मृतकको इतिहास बुझ्दा उनी घरबाट कतै बाहिर नगएको भएपछि गाउँमा भारतबाट आएका व्यक्ति भएकाले कोरोना भाइरसको सङ्क्रमणले मृत्यु भएको हो कि भनेर आशङ्का गरिएको रहेछ”, उनले भने, “तर स्वाब परीक्षण गर्दा कोरोना भाइरसको कारणले नभएर आफ्नै कालगतिले मृत्युको पुष्टि भएको हो ।”

लकडाउन अवधिभर जुम्लामा भारत तथा तेस्रो मुलुकबाट ११ हजार ५७३ नागरिक भित्रिएका छन् । तीमध्ये ६४ जना क्वारेन्टिनमा बसेका छन् भने एक हजार २७७ जना १४ दिनपछि क्वारेन्टिबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्