धनगढीमा कोरोना संक्रमितका लागि ५० शैयाको आइसोलेसन वार्ड तयार



धनगढी: कोरोना संक्रमितको उपचारका लागि धनगढीमा छुट्टै आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले ९४ रुपैयाँको लागतमा वडा प्रहरी कार्यालय नजिक ५० शैयाको आइसोलेसन वार्ड निर्माण गरेको हो ।

प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले नवनिर्मित वार्डलाई आज (सोमबार) सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

प्रदेश सरकारले सेती अस्पताललाई कोरोना उपचार विशेष अस्पताल तोकेको छ । संक्रमित र आइसोलेसनमा राखिएका बिरामीलाई नयाँ वार्डमा सारेर उपचार गरिने सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेयले बताए । उनले भने,‘वार्डको अभावले उपचारमा समस्या हुनुका साथै अन्य बिरामीमासमेत संक्रमण फैलने जोखिम थियो, अब छुट्टै भवनमा उपचार गर्न थालेपछि सहज हुनेछ ।’

सेती अस्प्तालमा आइसोलेसनमा रहेका संक्रमित र शंकास्पद बिरामीलाई नयाँ वार्डमा सारिने उनले बताए । सेती अस्पतालमा हाल पाँच जना कोरोना संक्रमित र दुई जना शंकास्पद बिरामीको उपचार भइरहेको छ ।

प्रिफेबको प्रयोग गरेर एक महिनाको अवधिमा आइसोलेसन वार्ड निर्माण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्