प्रेम विवाह घटनाः भेरी नदीमा अर्का युवकको शव फेला, ३ जना अझै बेपत्ता



रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार बेलुका भएको घटनामा बेपत्ता भनिएका जाजरकोटको भेरी नगरपालिका ४ का अन्दाजी २१ वर्षीय गणेश बुढाको शव भेटिएको परिवारजनले बताएका छन् ।

यससँगै यस घटनामा संलग्न तीन जनाको शव फेला परेको छ । घटनास्थलबाट २५ किलोमिटर तल भेरी नगरपालिका १२ मा रहेको खोदा खोला नजिक भेरी नदीको किनारामा शव फेला परेको प्रहरीले जनाएको छ ।

त्यही ठाउँमा आइतबार बेलुका चौरजहारी नगरपालिका १ का २० वर्षीय टिकाराम विकको शव भेटिएको थियो । घटनाकै दिन शनिबार राति नै जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव भेरी नदीमै फेला परेको थियो ।

तीन वटै शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोट लगिएको मृतकका आफन्तले बताएका छन् । चौरजहारी नगरपालिका वडा नं.८ सोतीकी एक युवतीलाई भगाएर बिहे गर्ने योजनाका साथ साथीहरु लिएर गएका नवराजलाई युवतीका आफन्तले कुटेर हत्या गरेको मृतकका आफन्तजनले बताएका छन् । यता युवतीका आफन्तले भने भेरी नदीमा खसेर उनीहरुको ज्यान गएको जनाएका छन् ।

इलाका प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार भेरी नगरपालिका वडा नं.११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विकको अवस्था अहिलेसम्म अज्ञात रहेको र खोजी कार्य तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्