क्षतविक्षत सडकले सास्ती



काठमाडौं : घडीमा बिहानको १० बजेर ४७ मिनेट गएको छ । चावहिल हुँदै साँखुस्थित शाली नदीमा मेला भर्न जाने दर्शनार्थीलाई लिएर भरीभराउ बस त्यसतर्फ दगुरिरहेका छन् । घाम त लागेको छ । तर, सडकमा अघिल्लो दिन मात्र परेको पानीको असर उस्तै छ । पानीका कारण सडक धान रोप्न ठिक्क पारिएको खेतका गह्रा जस्ता हिलाम्मे देखिन्छ । सडक दायाँबायाँ पार्किङ नहुँदा हिलाम्मे सडकका दायाँबायाँ राखिएका सवारीसाधनसमेत हिलो पोतिएको अवस्थामा देखिन्छन् । 

कतिपय स्कुटर र मोटरसाइकल चालक खुट्टा उचालेरै सजगतासाथ सवारी चलाइरहेका भेटिन्छन् । अर्कातर्फ पानी सुकेर सुक्खा बनेका सडकमा भने धुलोधुँवाका कारण बस्न सक्ने अवस्था देखिँदैन । स्वस्थानी व्रतकथा आरम्भ भएको झन्डै एक महिना हुन लागेको छ । अर्थात् समाप्तिको केही दिन मात्र बाँकी छ । स्वस्थानी व्रतकथासँग सम्बन्धित आस्थाको केन्द्र शालीनदी जान यही सडक मात्र विकल्पका रूपमा छ । त्यहाँ जाने दर्शनार्थी, स्थानीय तथा गाडी चालकहरू भने सम्बन्धित निकायको बेवास्ताका कारण लामो समयसम्म पनि सडक बन्न नसक्नुको असर भोग्न बाध्य छन् । हिलो सडकमा दौडिरहेका टिपरजस्ता ठूला सवारीले छ्याप्ने हिलो र उड्ने धुलोधुँवाका कारण दुईपांग्रे सवारीसाधन, पैदलयात्री तथा स्थानीय व्यवसायी भने मर्कामा पर्ने गरेका छन् । 

सर्वसाधारणले लामो समयदेखि भोग्दै आएको सास्तीलाई जनचासोका रूपमा लिएर राजधानीले चावहिलदेखि इन्द्रायणीसम्मको १० किलोमिटर सडकमा निगरानी गरेको थियो । सडक विस्तार आयोजनाको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन नसक्दा सर्वसाधारण मर्कामा परेको भन्दै सरकारकै अनुगमन समितिले समेत निर्धारित समयमै सडक निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको संयोजकत्वमा गठित अनुगमन समितिले समेत अनुगमन गरेर अहिलेसम्म २० देखि ४० प्रतिशत मात्र काम सम्पन्न भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । सरकारकै उच्च तहको अनुगमनपछि समेत आयोजनामा प्रगति भने हुन सकेको देखिँदैन । सडक अझै दुरवस्थामा देखिन्छ ।

तीन वर्षमा काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मवारी पाएका ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा सामान्य वर्षाका कारण पनि यो सडकको हालत अस्तव्यस्त बनेको छ । सडक विस्तारका नाममा दायाँबायाँ खनिएका खाडल, भत्काइएका घर, कम्पाउन्ड तथा फुटपाथ समयमै पक्की सडकका रूपमा विकास हुन सकेको छैन । बिजुलीका पोल स्थानान्तरणसमेत अलपत्र छाडिएको छ भने बिजुली तथा नेटका तारसमेत लत्रिएको अवस्थामा छन् । सडकका केही ठाउँमा पानी जमेर पोखरीजस्तै भएको छ भने घाम लागेर केही ठाउँमा धुलो उड्न थालिसकेको छ । सडक चिरा परेका, खाडल बनेका तथा धाँजा फाटेको अवस्थामा रहेको छ । जसकारण, दुईपांग्रे सवारीसाधन र पैदलयात्री कष्ट भोग्न बाध्य छन् ।

ठेकेदारको चरम लापरबाही

२०७२ सालबाट विस्तारको प्रक्रिया सुरु गरिएको सो सडक अझै अलपत्र अवस्थामा छ । सडक विस्तारका क्रममा अधिकांश फुटपाथ भत्काइएको छ । जसले गर्दा पैदलयात्रीलाई सडक बीचबाट हिँड्नुपर्ने अवस्था देखिएको छ । सडकको दुरवस्थाका कारण असन्तुलित हुँदै चलाउनुपर्दा सवारी चालकसमेत अप्ठ्यारोमा पर्ने गरेका छन् । पछिल्लो समय बन्दै गरेका फुटपाथसमेतको अवस्था दयनीय छ । साँघुरा र मुस्किलले एक जना मात्र हिँड्न मिल्नेदेखि पाइलासमेत अट्न नसक्नेसम्मका पाइएको छ । ठेकेदारको चरम लापरबाही छ तर सरकारी निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा ठेकेदारले सरकारलाई नै चुनौती दिइरहेको पाइएको खवर राजधानीमा छ । 

सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको साढे १२ किलोमिटरको सो सडकखण्डलाई पाँच भागमा विभाजन गरी त्यसको निर्माणका लागि २०७२ सालमै ठेकेदार कम्पनीहरूलाई जिम्मेवारी दिएको थियो । युनाइटेड बिल्डर्स एन्ड इन्जिनिर्यस प्रालिले असोज २०७२ मा ३ दशमलव ६ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । फागुन २०७५ सम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का पाएका ती कम्पनीले हालसम्म २० प्रतिशत बढी काम गर्न सकेका छैनन् । त्यस्तै, बज्रगुरु, च्याङमिला र खानी गरी तीन ठेकेदार कम्पनीले पनि संयुक्त रूपमा पुस २०७५ र २०७६ वैशाख गरी दुई स्थानको सडक निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । 

दुई दशमलव चार र तीन किलोमिटर गरी कुल पाँच दशमलव चार किलोमिटर सडक निर्माण ठेक्का पाएको ती कम्पनीले पनि हालसम्म ४० प्रतिशत बढी काम गर्न सकेको छैन । त्यस्तै बीटी, सुनकोसी र वल्र्ड वाइड कम्पनीले संयुक्त रूपमा पुससम्ममा निर्माण गर्नेगरी दुई दशमलव ४६० किलोमिटर सडकको जिम्मा पाएकामा हालसम्म ३५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । लामा र समानान्तर गरी दुई कम्पनीले पनि चैत्र २०७५ सम्ममा निर्माण सम्पन्न गर्नेगरीे एक दशमलव शून्य चार किलोमिटर सडक निर्माणको जिम्मा २०७४ सालमा पाएको थियो तर यसले समेत हालसम्ममा २५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्