नीति अनुसन्धान प्रतिष्ठान विधेयक पारित



काठमाडौंः राष्ट्रियसभाबाट ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पारित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकबाट सर्वसम्मतिले उक्त विधेयक पारित गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेकी थिइन् ।

बैठकमा ‘स्टाण्डर्ड नापतौल (पाँचौँ संशोधन) विधेयक, २०७६’ र ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ पेश भएको छ । उद्योेग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ती दुई विधेयक पेश गरे ।

यसैगरी बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘बिरुवा संरक्षण (दोस्रो संशोधन) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सो विधेयक कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक आजै अपराह्न १४ः०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्