कपिलवस्तुमा आगलागी हुँदा ९ घर जलेर नष्ट



कपिलवस्तुः कपिलवस्तुको विजयनगर गाउँपालिका ७ मानपुरमा आगलागी हुँदा नौ घर र दुई गोठ जलेर नष्ट भएको छ ।

स्थानीयवासी रमेश यादवको फुसले छाएको गोठबाट शुरु भएको आगोबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।

आगलागीबाट २० लाख बराबरको क्षति भएको छ । घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगोबाट मानवीय तथा चौपायाको क्षति भएको छैन । कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको हो । गर्मीयाम शुरु भएसँगै आगलागीका घटना बढेका छन् । गत चैतमा पनि विजयनगरको गुगौलीमा आगलागी हुँदा ४९ घर गोठ जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्