‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय भवन निर्माण



सुर्खेत: ‘सिएनएन हिरो–२०१५’ बाट सम्मानित अमेरिकी नागरिक म्यागी डोयनको पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ। कोपिला भ्याली समाजद्वारा सञ्चालित विद्यालयको नवर्निमित भवनको आइतबार कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरे। म्यागीकै नेतृत्वमा १० वर्षअघि कोपिला भ्याली समाज स्थापना भएको हो। जसले अनाथ, गरीब बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै असहाय महिलाका लागि सीप विकासको क्षेत्रमा काम गर्दै आएको छ।

वीरेन्द्रनगर नगरपालिका–१ धारापानीस्थित आफ्नै जग्गामा निर्माण गरिएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ। विद्यालयका साथै कोपिला भ्याली बालगृह र महिला केन्द्र पनि सञ्चालन हुनेछन्। आफ्नै भवन नहुँदा हालसम्म विद्यालय भाडामा सञ्चालित थियो।

तीन वर्षअघि निर्माण सुरु गरिएको उक्त भवन १२ करोड रुपैयाँ लागतमा पूरा भएको हो। कोपिला भ्याली समाजकी संस्थापक ३२ वर्षीय म्यागी डोयनले ग्रामीण भेगका अनाथ र असहायको सेवाका लागि आफूले अमेरिका छाडेको बताइन्। कोपिला भ्यालीले हाल सुर्खेतसहित अन्य जिल्लाका ४ सय ५० बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ।

पश्चिम नेपालमा गरेको समाजसेवाको कदरस्वरुप म्यागीलाई अमेरिकाको केबल न्युज नेटवर्क (सिएनएन) ले ‘हिरो अफ दि इअर–२०१५’ को उपाधिसहित एक लाख १० हजार डलर पुरस्कारबाट सम्मान गरेको थियो। विद्यालयका अर्का संस्थापक टोपबहादुर मल्लले अत्याधुनिक प्रविधिको विद्यालय भवन निर्माणमा ब्लांकनाउ फाउन्डेसन र फार्मर नामक संस्थाले सहयोग गरेको जानकारी दिए।

विद्यालयमा जडित सौर्य ऊर्जाबाट दैनिक १ सय ५० किलोवाटको विद्युत उत्पादन हुनेछ। उक्त विद्युत उज्यालोका साथै खाना पकाउने, पानी सञ्चय तथा प्रशोधन गर्ने काममा समेत उपयोग गरिनेछ। सौर्य प्रणालीबाटै खाना पकाउने सोलार कुकर स्थापना गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्